नखाएको विष लाग्यो, भलो गर्दा बदनाम गर्न खोजियो : पूर्व मेयर लामा



१२ माघ २०७६, काठमाडौं

नुवाकोट जिल्लाको विदुर नगरपालिकाका पूर्व मेयर कमानसिंह लामाले आफूलाई अन्य व्यक्तिको लेनदेनमा मुछेर बदनाम गर्न खोजिएको भन्दै आपत्ती जनाएका छन् । उनले धनमाया तामाङ र कृष्ण तामाङको लेनदेनको विवादमा आफूलाई मुछेर बदनाम गर्न खोजिएको भन्दै न्यायका लागि अदालतदेखि मिडियासम्म जान बाध्य भएको बताए ।

पत्रकार सम्मेलन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व केन्द्रीय सदस्य समेत रहेका लामाले कृष्ण तामाङ र धनमाया तामाङको ९ लाख ५२ हजार रुपैयाँ घरायसी लेनदेन मिलिसकेको प्रमाणहरु पेश गर्दै यसमा आफूले कसैलाई अन्याय नपरोस् भनेर उल्टै सहयोग गर्दा नियोजित रुपमा बदनाम गरिएको स्पष्ट पारे । उनले भने, ‘कमानसिंह लामा कसैको एक पैसा खाएर हिंडेको मान्छे होइन, पैसाको लेनदेनमा म कहाँ आएपछि उल्टै सहयोग गर्दा मेरै बदनाम गर्ने काम भयो ।’ कृष्ण तामाङ आफूकहाँ आएर मर्नुपर्ने अवस्थामा पुगेँ भनेपछि धनमाया तामाङलाई डाकेर रकम पाउने वातावरण मिलाइदिएको उनको स्पष्टोक्ति थियो ।

कृष्ण तामाङको भविष्यलाई ध्यानमा राखेर आशिष थापालाई डाकेर रकम दिने वातावरण बनाएको उनले बताए । उनले आशिष थापाले आफूले असोज २८ गते चार लाख बाउन्न हजार नगद, मंसिर २७ गते चार लाख नगद र सिटी एक्सप्रेसमार्फत् ५० हजार रकम प्रदान गरेको प्रमाण पेश गरे । त्यस्तै, आई.एम.ई मार्फत पनि ५० हजार रकम आफूहरुले धनमाया तामाङलाई पठाएको सुनाए ।

पैसा दिने प्रतिवद्धता व्यक्त भइसकेपछि आफूहरुलाई किरण सिंह र बमबहादुर तामाङ भन्ने व्यक्तिले रकम नदिए मार्ने धम्की दिएको लामाले बताए । उनले भने,‘मसँग धम्कीको रेकर्ड र फोन नम्बर समेत सुरक्षित छ ।’ त्यसपछि धनमायालाई डाकेर किन यस्तो गरेको रकम दिइहाल्थे भनेको बताए ।

विदुर नगरपालिकाका तरुण दल इकाई सदस्य समेत रहेका आशिष थापाका अनुसार २०७६ असोज २८  ४ लाख ५२ हजार रुपैयाँ धनमायाले भने बमोजिम किरण सिंहलाई नगद रकम पठाइएको थियो । २७ मंसिरमा ४ लाख दिइएको र बाँकी ५० हजार २८ पौषमा दिइएको थियो । चेक र मनि एक्सप्रेसमार्फत् रकम दिएर सादा कागजमा भौचर बनाएर टाइप गरेर हस्ताक्षर समेत गराइएको थापाको भनाई छ । आफू अस्वस्थ भई बस्दा समेत रकम पठाएको भन्दै अनावश्यक रुपमा कमानसिंह लामालाई मुछेको भन्दै आपत्ती जनाए । अन्तिम किस्तावापत्को रकम सिटी मनी एक्सप्रेसबाट पठाएको थापाले बताए ।

रकम पूरा दिइसक्दा पनि आफूहरुलाई नियोजित रुपमा बदनाम गरिएको भन्दै लामा र थापाले गम्भीर आपत्ती जनाए । लामाले आफूले कुनै गल्ती गरेको भए प्रहरीमा उजूरी दिई वा अदालतमा मुद्दा दायर गरी कारबाही अगाडि बढाउन चुनौती दिए । उनले भने,‘मलाई नखाएको विष लाग्यो ।’ आफ्नो परिवारका सदस्यलाई समेत तनावमा पार्ने गतिविधि भएको भन्दै झुटा विषय बाहिर आएकोमा दुधको दुध पानीको पानी गर्न पत्रकारहरुलाई आग्रह गरे ।

लामाले आफूमाथि मानहानी भएको भन्दै अदालतको ढोका ढकढकाएको समेत बताए । उनले भने, ‘मानिसहरु किन विनाकारण आत्महत्या गर्दारहेछन् भन्ने अहिले बुझ्दैछु । नभएको कुरा प्रचार नगरियो्स ।’ आफूले अन्याय गरेको भए जस्तोसुकै सजाय भोग्न तयार भएको उनको भनाई थियो । पैसा लिइसकेको चेकको भुक्तानी लगायत सबै प्रमाण आफूहरुसँग रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्