तारेभीर महोत्सवको भब्य तयारीः बाईक र्‍यालीदेखि कविता वाचनसम्म



२७ पुस २०७६, काठमाडौं

शिवपुरी राष्ट्रिय निकुञ्जसँग जोडिएको तारेभीर क्षेत्रमा पर्यटकिय गन्तव्य बनाउने लक्ष्यकासाथ महोत्सब शुरु गरिएको छ । हाल छैठौं तारेभीर महोत्सवको भव्य तयारी भए सँगै तारेभीर क्षेत्रको सरसफाई, बाईक र्‍याली, विभिन्न अन्तरक्रिया लगायत कविता वाचन तथा लेखन समेतका विभिन्न तयारी तीब्ररुपमा हुँदै आएको मूल आयोजक समितीले जनाएको छ ।

विगत देखि नै माघ १ गतेका दिन हुँदै आएको महोत्सबमा पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने बताईएको छ । प्रदेश सभा सदस्य रामेश्वर फुँयालको पहलमा शुरु गरिएको तारेभीर महोत्सव अहिले छैटौं श्रृङखलासम्म आइपुगेको छ ।

शिवपुरी राष्ट्रिय निकुञ्जको काखमा रहेको तारेभीर क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखेर सुरु गरिएको महोत्सव अघिल्ला वर्षभन्दा बिशेष कार्यक्रमका साथ मनाउने तयारी गरिएको छ । धार्मिक सांस्कृतिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण  पहिचानलाई जोगाउनका साथै सोही क्षेत्रको आर्थिक सामाजिक विकासलाई टेवा पुग्ने विश्वासका साथ महोत्सवको शुरु गरिएको प्रदेश सभा सदस्य रामेश्वर फुँयालले परिवर्तन खबरलाई बताए ।

तारेभीर महोत्सव र नेपाल भ्रमणवर्ष २०२० लाई थप सहयोग पुर्‍याउने उद्देश्यका साथ गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेको नेतृत्वमा जोरपाटीबाट १०० वटा बाईकमा २०० युवाहरुले तारेभीर सम्मको बाईक र्‍याली गरेका थिए । मोटरसाइकल र्‍यालीमा सहभागीले नेपालको राष्ट्रिय झण्डा र नेपाली टोपीको साथमा उपस्थित भएका थिए ।

तारेभीर क्षेत्रको आर्थिक, सांस्कृतिक र भौतिक विकास गरि सो क्षेत्रलाई प्रवर्द्धन गर्ने र आन्तरिक तथा वाह्य पर्यटकहरुको संख्यामा बृद्धि हुने समेत स्थानीयहरुको अनुमान रहेको  छ । हाल तारभीर क्षेत्रमा होटेल तथा रिसोर्टहरु खोलिने क्रम पनि बढ्दै गइरहेको छ । स्थानीय सरकारको प्राथमिकतामा परेको यो महोत्सवले काठमाडौं उपत्यकाको उत्तरी भागको पहिचान स्थापित गर्न सफल हुने विश्वास समेत लिएको छ ।

विं सं. २०७१ देखि प्रत्येक वर्ष माघ १ गते तारेभीरमा महोत्सव गर्दै घ्यू चाकु दिवस समेत मनाउन थालिएको हो । यसवर्ष भ्रमण वर्षको अवसर पारेर प्रदेश नं ३ सरकार, गोकर्णेश्वर नगरपालिका लगायत निकायको सहयोगमा महोत्सव सफल बनाउने विषयमा प्रारम्भिक भेला गरी छलफल गरेको आयोजकले बताएको छ ।

महोत्सवमा साहित्य सम्मेलन, तस्वीर प्रदर्शनी  स्थानीय उत्पादन, तामाङ समुदायको खाना, सामान र भेषभूषा सहितको झाँकी साथै स्थानीय उत्पादनलाई समेत प्रदर्शन गरिने भएको छ ।

भूकम्पले क्षति पुगेको यो सडक राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु २९ करोड लागतमा निर्माण भइरहेको छ । बढी पानी आइरहने भिरालो स्थानमा ढलान गरी सडक पूर्वाधार निर्माण गर्न अनुरोध गरिएको वडा नं. ३ का अध्यक्ष राजेन्द्र भण्डारीले बताउँदै तारेभीर महोत्सवमा उपस्थित हुन समेत अनुरोध गरेका छन् ।

महोत्सव समापन समारोहमा पूर्व प्रधानमन्त्री ‘प्रचण्ड’लाई प्रमुख अतिथिका रुपमा निमन्त्रणा गरिएको आयोजक समितिले जनाएको छ । ऐतिहासिकता, साँस्कृतिक विविधता, सभ्य, सम्पन्न तारेभीर युवाहरूको प्रतिबद्धता भन्ने नाराका साथ स्थानीय युवाहरु पनि महोत्सब सफल पार्नको लागि जुटेका छन् । उनीहरु दैनिक सामुहिक छलफल सहित तयारीमा जुटेको सामाजिक अभियन्ता गोपाल श्रेष्ठले बताए ।

त्यसैगरी तारेभीर महोत्सबकै पूर्वसन्ध्यामा अभिनव साहित्य समाजले पौष २९ गते तारेभीरमा नै  प्रतियोगितात्मक स्थलगत कविता लेखन तथा वाचन कार्यक्रम समेत आयोजना गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्