हिमपातमा बेपत्ता १३ जनाको खोजीका लागि हेलिकोप्टर पठाइँदै



३० मंसिर २०७६, काठमाडौं

जडिबुटी खोज्न जाँदा बेपत्ता भएका १३ जनाको खोजी गर्न गृह मन्त्रालयले हेलिकोप्टर पठाउने तयारी गरेको छ।

उनीहरुको खोजी र उद्दार गर्न सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर परिचालन गर्न लागिएको निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले बताए। तर, सुर्खेतको भिजीबिलिटी कम भएका कारण अहिलेसम्म हेलिकोप्टर उड्न नसकेको बताइएको छ। बाक्लो हुस्सु लागेका कारण अहिले सुर्खेतको वीरेन्द्रनगर क्षेत्र अँध्यारोजस्तै छ। आकाश खुल्नासाथ हेलिकोप्टर उडाइने र बेपत्ता नागरिकको खोजी गरिने निमित्त प्रजिअ श्रेष्ठले बताए।

ठूलो संख्यामा नागरिक बेपत्ता भएपछि आइतबार जिल्ला सुरक्षा समितिको बैठक बसेर उद्दारका लागि गृह मन्त्रालयमा पत्राचार गरिएको थियो। बेपत्ताहरुको उद्दारका लागि सबै सुरक्षा संयन्त्र तयारी अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय, जुम्लाले जनाएको छ। हिमपातमा बेपत्ता भएकाको उद्धार गर्न कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले पनि पहल थालेका छन्।

जिल्ला समन्वय समितिका प्रमुख र प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले उद्धार गर्न सरकार समक्ष पहल गरिसकेका छन्। अहिले जुम्लामा नेपाली सेनाको उद्दार टोली तयारी अवस्थामा छ। सम्कर्पबिहीन हुनेमा ९ पुरुष र ४ महिला रहेका छन्।

प्रतिक्रिया दिनुहोस्