
२५ कार्तिक २०७६, काठमाडौं
प्राध्यापक डाक्टर गोविन्द केसीको समर्थन गर्दै भीड बढ्न थालेपछि सोमबार प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरीको हस्तक्षेपसँगै डडेल्धुरा सदरमुकाम तनावग्रस्त बनेको हो।
हिजोसम्म सरकारी गाडी आवत–जावतमा रोक लगाएका डडेल्धुराबासीले सोमबार सम्पूर्ण यातायातका साधन ठप्प पारेका छन्। उनीहरुले जिल्लाको चोक चोकमा बसेर डा. केसीको समर्थनमा प्रदर्शन गरिरहेका छन्। केसीको अनसनको आज आठौं दिन हो।
दिन–प्रतिदिन उनको स्वास्थ्य अवस्था खस्कदै गएपछि सरकारले हेलिकप्टरमार्फत उनलाई जवरजस्ती काठमाडौं ल्याउन खोजेको छ। उनलाई काठमाडौं ल्याउनको लागि डडेल्धुरास्थित दह आर्मी व्यारेकमा हेलिकप्टरसमेत तयारी अवस्थामा राखिएको छ भने अस्पतालभित्रै एम्बुलेन्स समेत राखिएको छ।
अहिले अस्पताल परिसर भित्र बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रदर्शनकारी भने अस्पताल परिसर बाहिर रहेर प्रदर्शन गरिरहेका छन्। अनशनको पाँचौं दिन शुक्रबार स्वास्थ्यमा समस्या आएपछि केसीलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो।
केसीको पिसाबमा क्रियटिनिन बढेको र चिनीको मात्रा घटेको छ। यस्तै शरिरमा पानीको मात्रा घटेको र कमजोर हुँदै गएको अस्पतालले जनाएको छ। डडेल्धुरा अस्पतालमा आईसीयु नहुँदा चिकित्सकलाई केसीको उपचारमा समस्या भएको डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले जानकारी दिए।
यसैबीच नागरिक समाज, जिल्लाका संघसंस्था, पेशाकर्मी, राजनीतिक दलहरुको बैठक बस्दैछ। बैठकले केसीलाई काठमाडौं ल्याउन दिने की नदिने भन्ने निर्णय गर्ने बताइएको छ। उक्त आन्दोलनमा नेकपाको भने समर्थन रहेको छैन।





