चितवन मेडिकल कलेजमा तालाबन्दी



२५ कार्तिक २०७६, काठमाडौं

चितवन मेडिकल कलेजलाई विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्ने सहमति कलेजले उल्लंघन गरेको आरोप लगाउँदै विद्यार्थीले आइतबारदेखि तालाबन्दी गरेका छन्। माग पुरा नभएसम्म तालाबन्दी जारी रहने चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकास चन्दले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख रहेको छ।

यो भन्दा अघि विद्यार्थीले भदौमा पनि आन्दोलन गरेका थिए। आन्दोलन चर्कंदै गएपछि सिएमसीले असोज ४ गते चितवन जिल्ला प्रशासन कार्यालयमा कलेजका आन्दोलनरत विद्यार्थी र अभिभावकहरुसँग सहमति गरेको थियो।

त्यो बेला भएको पाँच बुँदे सहमतिमा मेडिकल शिक्षामा सरकारले तोकेको भन्दा विद्यार्थीबाट लिएको बढी शुल्क कार्तिक १८ गतेभित्र फिर्ता गर्ने उल्लेख थियो। कस्लाई कति शुल्क फिर्ता वा समायोजन गर्ने भनेर प्रतिवेदन दिन समिति पनि बनेको थियो। तर प्रतिवेदन नै आएन।

कार्तिक १५ गते सिएमसी प्रशासनले पत्रकार सम्मेलन आयोजना गरेर शैक्षिकसत्र ०७५÷७६ मा भर्ना भएका एमबीबीएस र डिडिएसका विद्यार्थीबाट लिएको भनिएको अतिरिक्त शुल्क मात्रै समायोजन गर्ने बताएको थियो। सरकारले एमबीबीएसका लागि तोकेको ४२ लाख ४५ हजार रुपैयाँ शिक्षण शुल्कमा ६ लाख रुपैयाँ अतिरिक्त लिएको कलेजले स्वीकार गरेको छ। त्यसमध्ये दुई लाख रुपैयाँ मात्रै समायोजन गर्ने कलेजको भनाइ छ।

शिक्षण शुल्कका अतिरिक्त रजिष्ट्रेशन शुल्क, परीक्षा शुल्क, मेडिकल काउन्सिल दर्ता शुल्क, संस्थागत शुल्क, कम्युनिटी शुल्क, इनर्टनसिप शुल्क, आन्तरिक परीक्षा शुल्क, खाना र होस्टेल शुल्क लिन मिल्ने चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. हरिश न्यौपानेको तर्क छ। यी शिर्षकको शुल्क चार लाख रुपैयाँसम्म पर्ने हुँदा अतिरिक्त लिएको ६ लाखबाट दुई लाख रुपैयाँ मात्रै समायोजन गर्ने न्यौपानेको भनाइ थियो।

तर कलेज प्रशासनको यो घोषणा विद्यार्थीले अस्विकार गर्दै आन्दोलनमा जाने बताएका थिए। सिएमसी प्रशासनले कुनै पनि शुल्क फिर्ता नगर्ने बताइ सकेको छ। रकम फिर्ता वा समायोजन गर्ने भनेको अन्तिम दिन कात्तिक १८ गते सोमबार विद्याथीले पत्रकार सम्मेलन राखेर शैक्षिकसत्र ०७२÷७३ देखिकै रकम फिर्ता र समायोजन हुनु पर्ने अडान दोहर्‍याए। चार शैक्षिक वर्षमध्ये सुरुका दुई वर्षको अतिरिक्त शुल्क फिर्ता हुनु पर्ने र पछिल्ला दुई वर्षको शुल्क समायोजन हुनु पर्ने विद्यार्थीको माग छ।

‘यी विषयहरुमा कलेज प्रशासन गम्भीर भएन। पछिल्लो एक शैक्षिक वर्षको एमबीबीएस र बिडिएसको अतिरिक्त शुल्क समायोजन मात्रै गर्ने कलेजको घोषणा हामी मान्दैनौं। त्यसैले आन्दोलन गरेका हौं’ संघर्ष समितिका संयोजक चन्दले भने। कलेजमा अहिले पढाइ छैन। यो बेला परीक्षा हुनु पर्ने हो। तर आन्दोलनका कारण परीक्षाहरु पनि हुन सकेको छैन। कार्तिक २० मा एमबीबीएसको परीक्षा नै थियो। जुन मंसिरलाई सरेको छ।

प्रतिक्रिया दिनुहोस्