हप्ताको ५० मिनेट दौडिए पनि बढ्छ आयु



२५ कार्तिक २०७६, काठमाडौं

दौडले शरीर ‘फिट’ राख्न मद्दत गर्छ भन्ने त हामीले बुझेकै छौं । तर दौडिनुको फाइदा यति मात्र होइन । ‘द कन्भरसेसन’ ले निकालेको ‘ब्रिटिस जर्नल अफ स्पोर्ट मेडिसिन’ मा दौडिने मान्छेको आयु नदौडिनेको भन्दा धेरै हुने उल्लेख छ ।

जर्नलअनुसार दौडले स्वास्थ्यमा उल्लेखनीय सुधार ल्याउनुका साथै मृत्युको जोखिम कम गर्न सक्छ । जर्नलका १४ अध्येताको व्यक्तिगत अध्ययनले दौड र मानिसको औसत आयु तथा मृत्युको जोखिमबीच सम्बन्ध देखाएको छ । दौडिने मान्छेमा मृत्युको जोखिम नदौडिनेभन्दा २७ प्रतिशत कम हुने जर्नलमा उल्लेख छ ।

विशेषगरी दौडिने मान्छेमा मुटुको जोखिम ३० प्रतिशत र क्यान्सरबाट मृत्यु हुने जोखिम २३ प्रतिशत कम हुने अध्ययनले देखाएको छ ।

विगतका केही अध्ययनमा दौडले मोटोपन, उच्च रक्तचाप, उच्च कोलस्ट्रोल, अशक्तता, मधुमेह, मुटु रोग र क्यान्सरजस्ता रोगको जोखिम कम गर्ने पुष्टि भइसकेको छ। यसले धेरै श्वासप्रश्वास हुने शारीरिक क्रियाकलाप, मुटुको चालचलन तथा सन्तुलन र मेटाबोलिजम सुधार्नु राम्रो स्वास्थ्य स्थितिको महत्त्वपूर्ण पक्ष हो ।

हामीले पहिल्यैदेखि जति धेरै दौडियो उति राम्रो भन्ने सुन्दै आएका हौं । हालको यो अध्ययनले भने बढी वा धेरै दुरी दौडिनुनपर्ने विषय पनि उठान गरेको छ ।

अध्ययनका अनुसार हामीले हप्तामा जम्मा ५० मिनेट मात्र दौडिँदा पनि मृत्यु जोखिम कम गर्न सक्छौं । अर्थात्, तपाईं स्वस्थ रहन चाहनुहुन्छ र आफ्नो आयु लामो होस् भन्ने सोचेर दौडिन खोज्नुभएको छ आफ्नो क्षमताभन्दा बढी बल लगाएर धेरै दौडिनुपर्छ भन्ने छैन । साताको एकपटक ५० मिनेटसम्म दौडेर पनि तपाईं आफूले चाहेको फाइदा लिन सक्ने एक अध्ययनले बताएको छ ।

यसको अर्थ धेरै दौडिन सक्ने वा चाहनेले एकाएक थोरै दौडिनुस् भन्ने होइन । आफूलाई जुन गतिमा जति सहज हुन्छ, त्यही हिसाबमा दौडिँदा हुन्छ ।

यो अध्ययनको विशेष फाइदा भनेको, व्यस्त र धेरै दौडिन जाँगर नआउनेका लागि सातामा एकपटक ५० मिनेट दौडिए काफी छ भन्ने हो। दिनै दौडिने र साताको एकपटक ५० मिनेट दौडिनेको मृत्यु जोखिम उत्तिकै कम हुन्छ ।

अध्ययनले अर्को कुरामा पनि जोड दिएको छ– तीव्र गतिमा दौडिनु र विस्तारै दौडिनुका फाइदामा खास फरक छैन । आठ किलोमिटर प्रतिघन्टा र १३ किलोमिटर प्रतिघन्टा रफ्तारको दौडाइले स्वास्थ्यमा कुनै अलग प्रभाव नपार्ने हुँदा आफ्नै सहज गतिमा दौडिन अध्ययनले सुझाएको छ ।

यति फाइदाका बाबजुद दौडका केही सम्भावित जोखिम भने छन्, जसबारे थाहा पाइराख्नु राम्रो । कहिलेकाहीँ दौडिँदै गरेको मान्छेको अचानक मृत्यु भएको हामीले सुनेका छौं । यसमा उनीहरूको शरीरमा भएका अन्य समस्याले बढी प्रभाव पारेको हुन्छ ।

कहिलेकाहीँ लडेर चोटपटक पनि लाग्न सक्छ । खुट्टा बाउँडिन वा मर्किन सक्छ । त्यसैले सजिला जुत्ता लगाएर मात्र दौडनुस् । अनि दौडिने ठाउँ सकेसम्म चउर रोज्नुहोस् । कालोपत्रे वा उबडखाबड सतहमा लडियो भने चोट धेरै लाग्न सक्छ ।

बानी छैन भने पहिलोपटकमै धेरै बेर नदौडिनुस् । थोरै थोरै गरेर विस्तारै बानी बसाल्ने र साताको ५० मिनेट वा शरीरले सकेसम्म मात्र आफ्नो गति लिँदै दौडिनुपर्छ ।

एक्लै मन नभए पार्क वा अरू ठाउँमा साथी बनाएर सँगै दौडिनुस् । समूहमा दौडिँदा राम्रो सामाजिक सम्बन्ध कायम गर्न सकिन्छ ।

दौडमा तपाईंको रूचि नै छैन भने, अरू खेल रोज्नुहोस् । शारीरिक व्यायाम र एरोबिक्स, साइक्लिङ, स्विमिङ, ब्याडमिन्टन, लन टेनिस लगायत खेल स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्