तात्यो नेकपा ३ नं. प्रदेश : २० बुँदे निर्देशन सहित उपनिर्वाचनमा होमिदै



१० कात्तिक २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ३ नं. प्रदेश संगठन कमिटीले मंसिर १४ गते हुने उपनिर्वाचनमा प्रदेश भित्रका सबै निर्वाचन क्षेत्रमा पार्टी जिताउने रणनीति बनाउन निर्देशन दिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय विशेष परिपत्र ५ अनुसार गरिएको निर्णयमा प्रदेश कमिटी अध्यक्ष नारायण दाहालको संयोजकत्वमा सचिव आनन्द पोखरेल लगायत करिब एक दर्जन केन्द्रीय सदस्यहरुलाई निर्वाचन परिचालनको जिम्मेवारी दिईएको छ ।

नेकपा प्रदेश सचिव आनन्द पोखरेलले परिवर्तन खबरसँग कुरा गर्दै भने, ‘पछिल्लो समय सामाजिक क्षेत्रमा पार्टीका समर्थकहरुको पराजयको कारण पार्टी अलोकप्रिय भयो भन्ने भ्रम सिर्जना गरिएको छ । उपनिर्वाचनमा पार्टी उम्मेदवार जिताएर मैदानबाटै त्यसको जवाफ दिईनेछ ।’

निर्वाचनमा ध्यान दिनुपर्ने २० बुँदे निर्देशन

१. उम्मेद्वार तय गर्दा सामाजिक रुपमा प्रतिष्ठित, जनतामा भिजेको, पार्टीमा लामो समय काम गरेको, वर्गीय र कुनै कारवाहीमा नपरेको स्वच्छ आचरणको ब्यक्ति हुनुपर्नेछ ।
२. समयमै मतदाता नामावली अद्यावधिक गर्न ध्यान दिनुपर्नेछ ।
३. प्रदेशसभा सदस्य/वडा अध्यक्ष उमेदवारका तर्फबाट प्रतिबद्धतापत्र समयमै सार्वजनिक गर्ने र व्यापक प्रचार गर्ने ।
४. स्थानीय तह निर्वाचन सम्बन्धि केन्द्रीय घोषणापत्रका बिषयलाई पनि महत्वकासाथ जनतामा पुर्‍याउने ।
५. पत्रकारहरुको टिम बनाएर परिचालन गर्ने ।
६. सामाजिक सञ्जालको व्यापक प्रयोग गर्ने । तर आबश्यक सावधानी अपनाउने ।
७. निर्वाचन अभियानलाई प्रभावकारी बनाउन आवश्यक बिषयहरुमा पटकपटक कार्यकर्ता प्रशिक्षणका कार्यक्रमहरु राख्ने ।
८. बेलैमा घरदैलोका कार्यक्रम बनाउने । मतदाता प्रशिक्षणमा बिशेष ध्यानदिने ।
९. निर्वाचन अभियानमा खट्ने कार्यकर्ताको अभिलेख राख्ने र कमिटीले मूल्यांकनको बिषय बनाउनुपर्नेछ । तर अभियानमा नखट्ने, पार्टी निर्देशनको अवज्ञा गर्ने र असहयोग गर्ने जो कसैलाई पनि पार्टीले छुट दिनेछैन । कडा कारवाहीको बिषय बन्नेछ ।
१०. पार्टीभित्रका आन्तरिक मनमुटाव र असमझदारीका बिषयहरु भएमा यथाशिघ्र समाधान गर्ने । तत्काल समाधान हुन नसक्ने कुनै बिषय बाँकी रहेमा थाती राख्ने तर निर्वाचन अवधिभर बिलकुल चर्चा गर्न पाइने छैन ।
११. जिल्ला कमिटीले पार्टी सदस्य, समर्थक र सहयोगीहरुबाट चन्दा उठाई निर्वाचन खर्चको बन्दोबस्त गर्नुपर्नेछ । बिगतको अनुभवलाई ध्यानमा राखि खर्चमा मितव्ययिता अपनाउने तथा हिसावकिताव पारदर्शी ढंगले राख्नुपर्नेछ ।
१२. प्रचार कार्य राजनीतिक रुपमा आक्रामक तर शालिन र शिष्ट शैलीमा गर्नुपर्नेछ ।
१३. आफ्ना मुद्दाहरु तथ्य र तर्कमा आधारित भएर सशक्तढंगले राख्ने, विरोधीका कुप्रचारको संयमितढंगले तर्कपूर्ण खण्डन गर्ने ।
१४. निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको दृढतापूर्वक पालना गर्दै प्रचारकार्यमा जुट्ने । निर्वाचन सम्पन्न भएपछि सफाइ अभियान चलाउनुपर्नेछ ।
१५. अनुमतिप्राप्त साइजका चुनाव चिन्ह (सूर्य)का झण्डा घरघरमा राख्ने ।
१६. पार्टी, सरकार र नेताहरुका बारेमा कुनै कार्यकर्ताबाट पनि नकारात्मक टिप्पणी हुनुहुँदैन । त्यसप्रकारका टिप्पणी सुनिएमा कार्यकर्ताले मौनता साँध्नु पनि हुँदैन, यथार्थ बताएर स्पष्ट पार्नुपर्दछ ।
१७. नेपाली राजनीतिमा पार्टी एकताको ऐतिहासिक महत्व, उत्पन्न भएको सिनर्जी र तीनवटै तहका सरकारहरुले अगाडि बढाइरहेका महत्वपूर्ण कामहरु बारे ब्यापक प्रचार गर्नुपर्छ ।
१८. बिगतका अनुभवलाई ध्यानमा राखेर मतगणनाका बेला पनि यथोचित ध्यान दिनुपर्नेछ ।
१९. हामी लामो समयदेखि संसदीय निर्वाचन लड्दै आएका छौं । बिगतका अनुभवबाट शिक्षालिएर कमजोरी दोहोरिन नदिने र सम्भावित कमजोरीबाट बच्न ध्यान दिनुपर्दछ ।
२०. निर्वाचन सकिएको १५ दिनभित्र निर्वाचन समीक्षा प्रतिवेदन प्रदेश पार्टी कार्यालयमा पठाइ सक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्