एक चिकित्सकको भरमा डडेल्धुरा अस्पताल



२८ असोज २०७६, काठमाडौं

पर्शुरामधाम, २८ असोज (रासस) ः अहिले डडेल्धुरा अस्पताल एक चिकित्सकको भरमा चलिरहेको छ । सङ्घीय सरकारको मातहतमा रहेकोे अस्पताल कर्मचारी समायोजनको चपेटामा पर्दा झनै समस्यामा परेको छ । सरकारले स्तरोन्नति गरी सेवा सुविधासहितको अस्पताल घोषणा गरे पनि पछिल्लो समयमा यसको सेवा खस्कँदै गइरहेको छ ।

चिकित्सक, जनशक्ति र भौतिक संरचनाको अभावले गर्दा अस्पतालले दिनुपर्ने जति सेवा दिन सकिरहेको छैन । टिम अस्पतालका रुपमा परिचित हालको डडेल्धुुरा अस्पताल सुदूरपश्चिमका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले २०२२ सालमा स्थापना गरिएको हो । यहाँका स्थानीय बसिन्दा र राजनीतिक दलका नेताहरुले आन्दोलन नै गरेका कारण त्यति बेलाको टिम अस्पताललाई सरकारले गत २०७५ फागुन ३ गते उपक्षेत्रीय अस्पताल घोषणा गरेको थियो । गत असारमा प्रदेश मातहतमा गएको यस अस्पताललाई गत फागुनमा सङ्घको मातहतमा रहने गरी नाम परिवर्तन गरेर स्तरोन्नति गरिएको हो ।

कहिले प्रदेश सरकार त कहिले विशेषज्ञसहितको सुविधा प्रदान गर्ने गरी सङ्घीय सरकारको मातहतमा राखिएको यस अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा बिरामी समस्यामा परेका छन् । “एक महीना अगाडि मेरी श्रीमती पनि सुत्केरी भएकी थिइन् तर, यहाँ सेवा नहुँदा उनी तराईमा गएर सुत्केरी भइन्,” सेवाग्राही ज्ञानेन्द्र ताम्राकार भन्नुहुन्छ – “उपचारका लागि बाहिर जानुपर्दा समस्या हुने गरेको छ । यो अस्पतालको नाम मात्रै विशिष्ट छ, जुन सेवा सुविधा पाउनुपर्ने हो त्यो पाइँदैन । बिरामी आउँछन् नाम लेखाएर रिफर भएर जान्छन् ।” चिकित्सक अभावमा पहाडी क्षेत्रका बिरामीले महङ्गो शुल्क तिरेर निजी अस्पताल तथा तराईका अन्य जिल्ला धाउनुपर्ने बाध्यता रहेकाले दरबन्दीअनुसारका चिकित्सक आउनुपर्ने उहाँको माग छ ।

प्रतिक्रिया दिनुहोस्