चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपाललाई धेरै लाभ–सांसद बस्नेत



२५ असोज २०७६, काठमाडौं

सांसद महेश बस्नेतले चिनियाँ राष्ट्रपति सी चीनफिङको आजदेखि हुने दुईदिवसीय नेपाल भ्रमणले नेपाल र चीनको सदियौँदेखिको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

सूर्यविनायक नगरपालिका–७ कार्यालयले आज गुण्डु चोकमा निर्माण गरेको सामुदायिक भवनको उद्घाटन कार्यक्रममा उहाँले विश्वमै चीनले गरेको चामत्कारिक विकासबाट नेपालले पनि सिक्नुपर्ने औँल्याउँदै यो भ्रमणबाट नेपालले धेरै लाभ लिनसक्ने भनाइ राख्नुभयो ।

उहाँले तीन वर्षअघिसम्म भिर र पहिरोबाट जकडिएको गुण्डुको अहिले विकासले मुहार फेरेको बताउँदै अबको तीन–चार वर्षमा विकासले भक्तपुरको मुहार फेरिने जिकिर गर्नुभयो । उहाँले उक्त सामुदायिक भवनमा आजै कार्यालय स्थापना भएको गुण्डु खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समिति र महानगरीय प्रहरी प्रभाग गुण्डुको कार्यालय भवनसमेत एकैसाथ हस्तान्तरण गर्नुभयो ।

गुण्डुकै सार्वजनिक जग्गामा सवारी अनुमति पत्र वितरण गर्ने यातायातको कार्यालय निर्माण हुने गरी कार्ययोजना अगाडि बढेको र यसै वर्ष त्यसका लागि रु दुई करोड बजेट विनियोजन हुन लागेको सांसद बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्