‘बागमती सफाइ अभियान’को ३३३औं हप्ताः बागमतीले मुहार फेर्दै



१३ असोज २०७६, काठमाडौं

नेपालमा बागमती नदीलाई ‘पावन’भनिन्छ। मान्छेहरु त्यो विश्वास राख्दछन् कि, बागमतीमा स्नान गर्नाले सबै पापहरु नाश हुन्छन्।

तर, नदीको अवस्था भने त्यस्तो छैन। नदीमा स्नान गर्नाले पाप पखालिनुको साटो रोग लाग्छ कि भन्ने डर हुन्छ।

ऋग्देवमा भनिएको छ, ‘जलमा अमृतजस्तो गुण हुन्छ। जलमा औषधीय गुण हुन्छ।’ तर, अहिलेको बामतीमा यो गुण विद्यामान छैन। बागमती त्यो अवस्थामा फर्किनको लागि कठिन मात्रै होइन, असम्भव पनि छ।

तर, ०५/०२/२०७० बाट सुरु भएको ‘बागमती सफाइ अभियान’ले भने बागमती केही हदसम्म सफा गरेको छ।

बागमती सफा गर्ने उद्देश्यले नै सुरु भएको यो अभियानले अहिले बागमतीको रुप फेरिएको छ।

बागमतीलाई फोहोर बनाउनुमा पहिले त सरकार नै दोषी देखिन्छ। ‘बागमती सफाइ अभियान’सुरु हुनुपूर्व सरकारले नै बागमतीको किनारामा डम्पिङ साइड बनाएको  सफाइका अभियन्ताहरु बताउँछन्।

‘बागमती सफाइ अभियान’ले आफ्नो ३३३ औं हप्ता पूरा गरिसकेको छ। यत्तिका हप्तासम्म चलेको अभियानले बागमतीलाई स्वस्थ बनाउँदै छ।

‘बागमती सफाइ अभियान’

‘बागमती सफाइ अभियान’ बागमतीलाई स्वच्छ अनि सफा बनाउनको लागि बनेको एउटा सक्रिय समूह हो।

जुन, विगत विसं २०७० सालबाट सुरु भएको थियो। यसले अहिलेसम्ममा ३३३ औं हप्तासमेत सफलताका साथ पूरा गरिसकेको छ।

हप्ताको प्रत्येक शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म चल्ने यो अभियानले आफ्नो बागमतीपन गुमाएको नदीलाई पुनः बागमतीकै गुणमा ल्याउनको लगि सहयोग गरेको छ।

अभियान सुरु हुनुभन्दा अगाडि बागमतीमा पानी जमेको जस्तो देखिन्थ्यो। तर, जब अभियान सुरु भयो। त्यसपछिका दिनहरुमा बागमतीमा पानी बगेको देखिन्छ।

डाक्टर, शिक्षक, चिकित्सक, विभिन्न सरकारी कर्मचारीहरु तथा अन्य सरोकारवालाहरुको समेत सहभागिता रहने यो अभियानले अठोट हो, बागमतीलाई पहिलेकै जस्तो बनाउने।

हामी पूर्ण रुपले स्वयंसेवक रुपमा यो अभियान चलाइरहेका छौंः अभियन्ता राम शाह

राम शाह, अभियानका कोर टिमभित्रको एक सदस्य हुन्।

उनी विगत् विसं २०७१ सालबाट निरन्तर अभियानमा जोडिएर बागमतीलाई सफा गर्ने कर्ममा छन्। पेशाले शिक्षक रहेका उनले आफूलाई सामाजिक अभियानमा पनि उतिकै सक्रिय राख्छन्।

“अन्य ६ दिन आफ्नो लागि र हप्ताको एक दिन देशको लागि दिँदा केही हुन्न। गर्ने हामीले नै हो। गर्ने अहिल्यै नै हो। ” उनी भन्छन्, “हामी यसलाई अविछिन्नसम्म संचालन गर्ने छौं। यो अभियानलाई हामी पूर्ण स्वयंसेवकको भूमिकामा रहेर गर्ने गरेका छौं। यसबाट हामीले कुनै आयआर्जन गरेका छैनौं। कुनै आर्थिक लाभ लिएका छैनौं।”

उनी सरकारी पक्षबाट नेपाली सेना, प्रहरी तथा सशस्त्रको पनि उपस्थिति भएपनि सरकारी पक्षबाट बागमती सफाइ अभियानलाई प्राथमिकता नराखेको गुनासो गर्छन्। ‘सरकारी सहयोग छ तर, जति हुनुपर्ने हो। त्यति छैन।’ उनी भन्छन्।

काम गर्ने शिलशिलामा कति ठाउँमा आफूहरुलाई आरोप समेत आएको स्मरण गर्दै शाहले यो अभियानलाई जसरी भएपनि निरन्तरता दिने बताए।

अभियन्ता शाहसँग गरिएको विस्तृत कुराकानी हेर्नुस्ः

यसरी गरिन्छ ‘बागमती सफाइ’

बागमती सफाइ प्रत्येक हप्ताको शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म गरिने गरिन्छ।

सोही दिन विभिन्न संघसंस्था, जनप्रतिनिधि, नेपाल प्रहरी, सेना तथा सशस्त्रहरुको उपस्थिति रहन्छ। प्रारम्भमा सम्पूर्ण अभियन्ताहरु गोबन्दीमा उभिएर राष्ट्र र राष्ट्रियताप्रति समर्पित राष्ट्रिय गान गाइन्छ।

त्यसपछि आ–आफ्नो जुत्ता, पञ्जा, डोको तथा सुइरोहरु साथमा लिएर बागमतीमा प्रवेश गरिन्छ।

२ घण्टासम्म लगातार खोलाबाट निकालिएका फोहोर सम्बन्धीत नगरपालिकाले गाडी पठाउने गर्छ। त्यसैगरी उक्त गाडीमा फोहोर लोड गरेर उचित व्यवस्थापन गर्ने गरिन्छ।

भिडियोमा हेर्नुहोसः

पहिलेको जस्तै बागमती बन्ला?

बागमती नदी पहिलेको जस्तै नभएपनि ‘बागमती सफाइ अभियान’ले केही हदसम्म सफा गरेको अवस्था छ आजसम्म।

तर, यो अभियानलाई अझ सशक्त रुपमा संचालन गर्दै जाने हो भने, कालान्तारमा बागमती सफा हुने अभियन्ताहरु बताउँछन्।

पहिलेको जस्तो बागमती पाउनु भने गाह्रो छ। तर, ३३३ औं हप्तासम्म चलेको बागमती अभियानले बागमतीको मुहार भने पक्कै नै फेरेको छ।

यसरी नै यही गतिमा सफाइ हुँदै गयो भने बागमतीको रुप पहिलेको जस्तै बन्न पनि सक्छ।

अब सम्बन्धीत कुरा!

जीवित नदीको अवधारणाः

उत्तराखन्ड हाई कोर्टले हालसालै एक ऐतिहासिक फैसलाद्वारा गंगा तथा यमुना नदीलाई‘जीवित’को दर्जा दिने आदेश गरेको छ।

नेपालले पनि यही अवधारणालाई अनुशरण गर्दै बागमती नदीलाई यस्तै मर्यादा दिन ढिला गर्नु हुँदैन। हालसम्म यो अभियानमा भएका कार्यहरूमा सहभागीको उत्साह, जनचेतनामा वृद्धि, सरकारको ध्यानाकर्षण हुन सक्नु राम्रा पक्ष हुन्।

तर, यति धेरै प्रयास हुँदाहुँदै पनि आशानुरूप बागमती नदी स्वच्छ बनाउन नसकिनु दुःखको कुरा हो।

अबको आवश्यकता भनेको फोहोरलाई स्रोतमै प्रशोधन, संरचनागत सुधार, अनियन्त्रित बस्ती विकासमा रोक, ऐन नियमको दृढ कार्यान्वयन र सुन्दर रिभर फ्रन्टको निर्माण नै हो।

यो भए कति राम्रोः

१, सेप्टिक ट्यांक निर्माणः

काठमाडौं उपत्यकामा घर निर्माण गर्दा सेप्टिक ट्यांक निर्माणलाई अनिवार्य भनिएको छ।

तर, पछिल्लो समय निर्माण भएका भवनमा यो कमै मात्रामा देखिन्छ। यसको निर्माण नहुँदा पनि वरपरका खोलानाला, तालतलैया तथा अन्य गोरेटोहरु फोहोर हुने हुन्छ।

संगठित समूहद्वारा निर्माण हुने बहुतल्ले घरहरूमा समेत यसको निर्माणमा बेवास्ता गरिन्छ र यसको निर्माणलाई फजुल खर्च भन्ने गरिन्छ।

कुनै पनि घरबाट निस्कने फोहोर प्रशोधन गर्नु घरवालाको नै जिम्मेवारी हुने हुँदा यस्तो प्रावधान कडाइका साथ लागू नगरी नदी प्रदूषण रोक्न जतिसुकै प्रयास गरे पनि सम्भव हुँदैन।

यसका लागि ‘एक घर एक सेप्टिक ट्यांकी’ अभियान चलाउन आवश्यक छ र यसलाई अनिवार्य गराउनु, नियमित अनुगमन गर्नु र यसको पालना नभएमा दण्डित गर्ने प्रावधान हुनुपर्छ।

यसले नदीनाला तथा खोलाखोल्सीहरुलाई फोहोरबाट बचाउने काम गर्छ।

२, ढल प्रशोधनः

ढल प्रशोधन अनिवार्य छ। अनियन्त्रित रूपमा खुला ढलहरू नदीमा अनवरत रूपमा प्रवाह भइरहेका छन् र नदी दिन प्रतिदिन अझ बढी प्रदूषित बनिरहेको छ।

निसृत ढल नदीमा मिसाउनुभन्दा पहिले अनिवार्य रूपमा प्रशोधन गर्नुपर्छ। यसका लागि यो कार्य सरकारको उच्चतम प्राथमिकतामा पर्न जरूरी छ। यो कार्य हालसम्म हुन सकेको देखिँदैन।

यससले पनि धेरै नदी तथा कुवा, खोलाहरुको सुन्दरता बचाउनेमा सहयोग गर्न सक्छ।

३, अनियन्त्रित बस्तीको व्यवस्थापनः

नदी किनारमा अनियन्त्रित बस्ती रहेसम्म नदी सफा हुन सक्दैन।

हाल अधिकांश नेताहरू सफाइ अभियानमा आलंकारिक रूपमा सहभागी हुने तर अनियन्त्रित बस्ती बसाउन परोक्ष रूपमा सघाउने गरेको देखिन्छ।

भोट बैंकको लोभमा यस्ता कार्यहरूलाई प्रोत्साहन दिइँदासम्म बागमती नदी पुनः स्वच्छ हुने आस नगर्दा हुन्छ।

यस्ता बस्तीहरु व्यवस्थापन गरेको खण्डमा ‘बागमती सफाइ अभियान’जस्ता महाअभियानहरुलाई धेरै सघाउ पुग्छ।

४, दृढ कार्वान्वयनः

प्रदूषण नियन्त्रण गर्न विभिन्न संरचनाहरूको निर्माणकार्य र जनचेतनाको जति आवश्यक हुन्छ, त्यत्तिकै आवश्यकता उचित ऐन नियमको निर्माण र त्यसको परिपालनको पनि हुन्छ।

कार्यान्वयन पक्षमा तदारूकता र दृढताबिना यो कार्य सम्भव हुँदैन।

प्रतिक्रिया दिनुहोस्