‘कामपा ४ लाई मेरै कार्यकालमा युरोपियन स्तरमा पुर्‍याउँछु’ : वडाध्यक्ष मोहन विष्ट



०८ असोज २०७६, काठमाडौं

काठमाडौं महागरको वडा नं. ४ मा जन्मिएर यहाँको भूगोललाई चिनेका मोहन बिष्ट गत स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । पूर्वाधार निर्माण, सार्वजनिक जग्गाको संरक्षण र पार्क निर्माण अभियानले उनलाई महानगरको सर्वाेत्कृष्ट वडाध्यक्ष हुने संकेत देखिएको छ ।

जनताको सेवामा समर्पित बिष्ट आफ्नो कार्यकालमै ४ नं. वडालाई युरोपियन स्तरमा लैजाने प्रयासमा छन् । उनले गरेका विकास निर्माण र भावी योजनाबारे परिवर्तन खबरले गरेको कुराकानीको सारसंक्षेप :

तपाईको बाल्यकालबारे केही बताइदिनुहोस न ?
२०१९ साल साउन १९ गते अहिलेको काठमाडौं महानगरपालिका वडा नं.४ धुम्बाराहीमा परिवारको जेठो छोराको रुपमा मेरो जन्म भएको हो । म ११ बर्षको हुँदा मेरो पिताजीको निधन भयो । त्यतिबेला हाम्रो मुख्य पेशा कृषि नै थियो । आफ्नो जमिनमा उब्जनी भएको धान, मकै बेचेर आमाले दु:खसाथ हामीलाई पढाउनु भएको हो ।

काठमाडौँमा जन्मिनु भएको तपाई राजनीतिमा कसरी आउनुभयो ?
मेरो आमाले मलाई निकै दु:ख गरेर हुर्काएर आज यो स्थानसम्म ल्याइदिनु भयो । मलाई यो क्षेत्रमा पहिले देखिनै रुचि थियो । त्यतिबेला धनीमानी काँग्रेस पार्टीमा र गरिबहरु चाहिँ कम्युनिष्ट पार्टीमा लाग्ने चलन थियो । नेपाल कम्युनिष्ट पार्टी भनेको अन्यायमा परेकाहरुको पक्षका लागि खोलिएको पार्टी भएकोले म पनि यही पार्टीमा आबद्ध भए ।

२०३८ सालमा एसएलसी पास गरेपछि म राजनीतिमा प्रवेश गरे । त्यसबेला हामीले स्व–इच्छाले अन्याय, अत्याचार, भष्ट्राचारका विरुद्धमा अगुवाई कम्युनिष्ट पार्टीमा हुन्छ भन्ने हामीले सुनेका थियौँ । त्यसैको आधारमा म कम्युनिष्ट पार्टीमा लागे ।

तपाई जेल पनि पर्नुभयो ?
म पञ्चायत कालमा चाहिँ परिन । तर २०४७ सालतिरको जनआन्दोलनमा र २०६२/०६३ को जनआन्दोलनमा पटक–पटक जेल परेको छु ।

वडाध्यक्ष भएपछि यहाँले गर्नुभएका मुख्य उपलब्धीहरु के–के हुन् ?
हामीले पहिले आधारभूत आवश्यकता जस्तै, खानेपानी, सडक, बत्ती, ढल जस्ता कुरामा ध्यान दिएर गतबर्ष वडाभित्रका ४१ वटा बाटाहरु र अधिकांश ढल निर्माणको काम सम्पन्न गरेका छौं । अब काठमाडौँ महानगरपालिकालाई स्वच्छ, हराभरा बनाउने उद्देश्यले ब्यक्तिद्वारा मिचिएका धेरै जग्गाहरु सरकारको मातहतमा ल्याईसकेका छौं ।

तपाईले बाटाहरु बाहेक सार्वजनिक जग्गा संरक्षणमा विशेष योगदान दिनुभएको बुझिन्छ नी ?
म यहि जन्मिएर हुर्कीएको भएर सार्वजनिक जग्गाको बारेमा मलाई धेरै कुरा थाहा छ । स्थानीय तहमा वडाध्यक्षको रुपमा निर्वाचित भएपछि काठमाडौं महानगरपालिकाको वडा नं ४ लाई स्वच्छ र हराभरा बनाउन लागि परेका छौं । त्यसैले अब हाम्रो काम भनेको भएका सार्वजनिक जग्गाहरुलाई संरक्षण गर्ने हो । कहिकतै कसैले अतिक्रमण गरेको जग्गा विभिन्न माध्यमले पत्ता लगाउने काम गरिरहेका छौं । कसैले अतिक्रमित रुपले सार्वजनिक जग्गा हडपेको पाइएमा त्यस्तो जग्गालाई प्रक्रियागत ढङ्गले सार्वजनिक बनाउँछौं ।

अहिलेसम्म त्यस्ता जग्गा कति पाइयो ?
हामीले ब्यक्तिद्वारा हडपिएका ६५ रोपनी जग्गा नेपाल सरकारको मातहतमा ल्याउन सफल भएका छौँ । अहिले कार्यालय संचालन भईरहेको भवन समेत व्यक्तिले हडपेर प्रयोग गरेको थियो । हाम्रो पहलमा यो सार्वजनिक सम्पत्ति भएको छ ।

कस्ता मान्छेले सार्वजनिक जग्गा हडपेको पाउनुभयो ?
जो व्यक्ति जग्गामा चलखेल गर्ने हुन्छन्, तिनीहरुले नै यस्तो काम गरेका हुँदा रहेछन् । यस्तो कामलाई राजनीतिले प्रोत्साहित गरेको भने मैले भेटिन ।

ब्यक्तिले हडपेका जग्गा सार्वजनिक बनाउँदा तपाईलाई धम्कीहरु धेरै आए होलान् नी ?
धम्की दिने मान्छेहरु धेरै नै हुन्छन् । धम्कीका बाबजुत पनि हामीले काम गर्न भने छाडेनौँ । कत्तिले त तलाई हामीले भोट हालेको अहिले यस्तोसम्म गरिस् भने । मैले पनि भोट मलाई खराब कामको लागि दिनुभएको हो कि असल कामको लागि भनेर जवाफ दिए । जनताले मलाई भोट राम्रो कामको लागि नै दिनुभएको हो, त्यसैले म खराब काम भने गर्दिन । त्यसैले जनताबाट मैले राम्रो काम गर्दा सहयोग र साथ दिनुहुन्छ भन्ने अपेक्षा गरेको छु ।

यसबाहेक यहाँले वडामा गर्नुभएका मुख्य कामहरु के–के हुन ?
ढलका सम्पूर्ण कामहरु हामीले गरिसकेका छौँ । खानेपानी सम्बन्धी भने काम हुँदैछ । अर्को कुरा भनेको अब हामीले बनाउनुपर्ने ४ पार्कहरु छन् । फुटसल भएको ठाउँमा ८ रोपनी जग्गामा एउटा पार्क बनाउनु छ । त्यसबाहेक साइपल स्कूल छेउको जग्गालाई नेपाल सरकारको मातहतमा ल्याउन हामी सफल भएका छौँ । त्यहाँ एउटा पार्क बनाउनु पर्नेछ । तेस्रो भनेको धुम्बाराहीको कृष्ण कोलोनी नयाँ गल्ली छेउमा पार्क बनाउन हामीले तयारी गरिरहेका छौँ । त्यसबाहेक कपन मार्ग बुनपा र काठमाडौँ महानगरपालिका बोर्डको छेउको जग्गा पनि हामीले मुद्दा लडेर प्राप्त गरेका छौँ । त्यहाँ पनि हामीले पार्क बनाउनु छ । अब हामीले ४ नम्बर वडालाई स्वच्छ, सुन्दर र हराभराको नीति अनुसार ७ वटा पार्कको कार्ययोजना लागू गर्नुपर्नेछ ।

वडा कार्यालय भवन कहिलेसम्म सम्पन्न हुन्छ ?
दशैँ अघि नै पहिलो तल्ला ढलान हुन्छ । हाम्रो लक्ष्य भनेको एक बर्षमा भवन निर्माण कार्य सक्ने हो । ठेकेदारलाई पनि त्यहि अनुसारको काम गर्न लगाई रहेका छौं ।

तपाई निर्वाचित हुनुभन्दा अगाडि र तपाईको कार्यकाल सकिदा काठमाडौँ ४ मा के फरक देखिन्छ ?
मेरो बुझाईमा काठमाडौँ ४ मा गर्नुपर्ने विकासका आधारभूत कामहरु सम्पन्न हुन्छन् ।  त्यसपछि हामीले सरसफाइलाई नै विशेष जोड दिनुपर्छ । मलाई अब ४ जना सफाई मजदुर र एउटा गाडी दिईयो भने हामी २४ घण्टा वडाबासीहरुको सहयोगको लागि तत्परताका साथ अगाडी बढ्नेछौँ । सधैँ हामी जनताको सेवामा नै समर्पित रहनेछौँ । त्यसपछि काठमाडौं  ४ महानगरकै नमूना वडा बन्छ भन्ने लाग्छ ।

मानवीय विकासमा चाहिँ यहाँले के–के गर्नुभयो ?
४ नम्बर वडा सुविधा सम्पन्न र दक्ष जनशक्ति भएको वडा हो । काठमाडौँ ४ वडा भनेको राज्यको एउटा मुटु नै हो । त्यसले गर्दा यहाँ सम्पन्न र सभ्य मानिस बस्ने भएकाले हाम्रो वडा सफा र सुग्घर हुन पुगेको छ । महानगरपालिकामध्ये तेस्रो ठूलो वडा एक्लैले सफा राख्न त सकिदैन । यहि वडावासीहरु सभ्य, योग्य र दक्ष भएका कारण यो सफल भएको हो ।

तपाईले युरोपियन स्तरको वडा बनाउँछु भन्नुभएको छ नी ?
हामीले घरघरमा फोहोरमैलालाई न्यूनिकरण गर्न ५०/५० जनाको टिम बनाएर प्रशिक्षण दिइरहेका छौँ । जहाँ कुहिने सामानहरु एकतिर र नकुहिने सामानहरु अर्काेतिर राख्नलाई अनुरोध गरेका छौँ । यसलाई ब्यवस्थित गर्दै वडालाई युरोपियन स्तरमा पुर्‍याउँछौं ।

स्थानीय सरकार आएपछि कर बढी लियो भन्ने जनताको गुनासो छ नी ? यसलाई तपाईले कुन रुपमा हेर्नुभएको छ ?
पहिले हामी १० पैसामा चिया खान्थ्यौँ भने अहिले २० रुपैया तिर्ने गरेका छौँ । समय र परिस्थिति अनुसार त्यसलाई अन्यथा मान्नु हुँदैन । पहिले पैसाको मूल्यको महत्व थियो । अहिले भने त्यसको महत्व त्यति छैन । त्यसकारण समय अनुसार कर बढाउनु स्वभाविक हो जस्तो लाग्छ मलाई ।

कर तिरे अनुसार वडावासीलाई तपाईले के सुविधा दिनु भएको छ ?
४ नम्बर वडामा लगभग हामीले पूर्वाधार निर्माणका कामहरु सम्पन्न गरिसकेका छौँ । हामीले महानगरको नमूना वडा यसलाई बनाउँछौँ पनि भनिरहेका छौँ । प्रत्येकको घरदैलोमा खोजी–खोजी हामीले काम गरिदिन्छौँ पनि भनेका छौँ । उहाँहरुले तिरको करको प्रतिफल विकास गरिरहेका छौं ।

प्रतिक्रिया दिनुहोस्