महामारीको रुपमा फैलिएको डेङ्गु रोगबारे जनमानसमा ज्ञानको कमी



०३ असोज २०७६, काठमाडौं

हिमाल, पहाड र तराई भिन्नभिन्न हावापानी र मौसम भएका अधिकांश जिल्लामा डेङ्गु रोग सार्ने ‘एडिस एजेप्टी’ र ‘एडिस एल्बोपिक्टस’ पोथी जातका लामखुट्टे पुगेको पाइएको छ। सो रोग सबै प्रदेशसहित ६८ जिल्ला देखापरेको कीटजन्य रोगको व्यवस्थापन गर्ने निकाय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

मनाङमा समेत एक जनामा डेङ्गु देखापरेको छ। महाशाखाको पछिल्लो विवरणअनुसार रोगका कारण हालसम्म काठमाडौँ, सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा गरी ६ जनाको मृत्यु भएको छ। सात हजार ३ सय ७० जनामा डेङ्गु रोगी फेला परेका छन्। निजी क्लिनिकमा उपचार गर्नेको सङ्ख्या यसमा उल्लेख गरिएको छैन।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ कीटजन्य रोग अनुसन्धानकर्ता डा. मेघनाथ घिमालका अनुसार नेपालमा एडिस एजेप्टीले एक हजार ८ सय र एडिस एल्बोपिक्टसले दुई हजार १ सय मिटरको उचाइमा प्रजनन गर्ने क्षमता पाइएको छ। “जलवायु परिवर्तन र तापमान वृद्धिका कारण ती दुवै प्रजातिका लामखुट्टे सबै हावापानी भएको ठाउँमा पुगेका छन्। डेङ्गुको प्रकोप फैलिन सक्छ भनेर वीरगञ्जदेखि पहिल्याउँदै रसुवाको धुन्चेसम्म अध्ययन गरेका थियौँ । नियन्त्रणका कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेका थियौँ”, उनले भने।

सन् २०१२ मा छ महीना लगाएर परिषद्ले अध्ययन सम्पन्न गरेको थियो। डेङ्गु सार्ने लामखुट्टे लगभग दुई हजार १ सय मिटरको उचाइसम्म फैलिन सक्ने र ती उचाइमा लामखुट्टेका एडल, लार्भा र फुलसमेत फेला परेको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई दिइएको थियो। परिषद्को अध्ययनले सो रोग महामारीका रुपमा फैलिसकेको तर जनमानसमा रोगबारे ज्ञानको कमी भएको देखाएको छ। अध्ययनअनुसार माथिल्लो भूभाग अर्थात् हिमाल र पहाडी जिल्लाका १६ तथा तल्लो अर्थात् तराईका जिल्लाका ५३ प्रतिशत नागरिकले मात्र डेङ्गुबारे सुनेको पाइएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सल्लाहकार चिकित्सक कृष्णकुमार राई डेङ्गु रोग महामारीका रुपमा नफैलिएको र रोग नियन्त्रण गर्न मन्त्रालयले प्राथमिकता दिएको बताउनुहुन्छ। उनी भनछन्, “डेङ्गु रोगबाट त्रसित हुनुपर्ने अवस्था छैन। सावधानी भने अपनाउनुपर्छ।”

प्रतिक्रिया दिनुहोस्