चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी आन्दोलितः सोह्र दिनदेखि पठनपाठन ठप्प



०१ असोज २०७६, काठमाडौं

सरकारले तोकेकोभन्दा बढी शुल्क लिइएको भन्दै चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले आन्दोलन गर्नथालेपछि सोह्र दिनदेखि पठनपाठन ठप्प भएको छ। कलेजको २६ वटा सङ्कायमा २ हजार विद्यार्थी अध्ययनरत रहेका छन्।

त्यहीँ अध्ययनरत प्रकाश चन्दको नेतृत्वमा गठित चिकित्सा शिक्षा सङ्घर्ष समितिले आन्दोलनको नेतृत्व गरिरहेको छ। चन्दले सरकारले तोकेभन्दा बढी शुल्क चितवन मेडिकल कलेजले असुल गरेकै कारण आन्दोलन गर्नुपरेको बताएका छन्।

शुल्क नघटेसम्म आन्दोलन जारी रहने उनको भनाइ रहेको छ। मुख्यरुपमा एमबिबिएसमा सरकारले तोकेभन्दा रु. १२ लाख बढी शुल्क कलेजले असुल गरेको चन्दको भनाइ छ। यता कलेज प्रशासनले भने सरकारले तोकेभन्दा बढी शुल्क नलिएको जिकिर गर्दै आएको छ।

कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले एमबिबिएसका लागि शैक्षिक शुल्क रु. ४२ लाख तोकेको बताए।

प्रतिक्रिया दिनुहोस्