सुत्केरीको मृत्युपछि अस्पतालमा तालाबन्दी



०१ असोज २०७६, काठमाडौं

दुधौली नगरपालिकाको स्वास्थ्य चौकीमा एक सुत्केरी महिलाको मृत्यु भएको छ। स्वास्थ्यकर्मीको लापरवाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै (हिजो) मगलबार उनका आफ्न्ताले तालाबन्दी गरेका हुन्।

दुधौली नगरपालिका–२ रतनपुरकी २१ वर्षीया अनुषा कुमरलाई व्यथा लागेपछि सोमबार दुधौली नगरपालिका–१ हतपतेस्थित स्वास्थ्य चौकीमा भर्ना गरिएको थियो।

उनले भर्नालगत्तै छोरी जन्माएकी थिइन्। अत्यधिक रक्तस्राव भएपछि समयमै चिकित्सकसँग सल्लाह गरिएको अनुषाका आफन्त सुकदेव अधिकारीले बताए। “चिकित्सकले यहीँ ठिक हुन्छ भनेपछि हामी ढुक्क भयौँँ”, उनले भने।

रातिसम्म रक्तस्राव नरोकिएपछि अनुषालाई चिकित्सकले उपचारका लागि अन्यत्र लैजान आफन्तसँग आग्रह गरेका थिए। उपचारका लागि बर्दिवास लैजाने क्रममा राति अनुषाको बाटोमै ज्यान गएको हो।

“समयमै अन्यत्र लैजान सुझाव दिएको भए सुत्केरीलाई बचाउन सकिन्थ्यो”, अधिकारीले भने, “चिकित्सको लापरवाहीले ज्यान गयो।”

प्रतिक्रिया दिनुहोस्