मर्करीयुक्त डेन्टल अमल्गमको प्रयोगमा सरकारले गरेः प्रतिबन्ध



३१ भदौ २०७६, काठमाडौं

मर्करीयुक्त उपकरण तथा डेन्टल अमल्गमको प्रयोगमा सरकारले प्रतिबन्ध गरेको छ। गत भदौ ४ गते मन्त्रिस्तरीय निर्णयबाट अब आम नागरिकले मर्करीमुक्त दन्त चिकित्सा तथा मर्करीमुक्त स्वास्थ्य सेवा प्राप्त गर्ने सक्ने भएको हो।

अब गर्भवती र स्तनपान गराइरहेका महिला तथा १५ वर्षमुनिका बालबालिकामा मर्करी डेन्टल अमल्गमको प्रयोग पूर्णतः प्रतिबन्ध लगाउने, अन्य उमेरका हकमा विकल्प भएमा पाँच वर्षभित्र प्रतिबन्ध लगाउने, दन्त चिकित्सा अध्ययन गराउने विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मर्करी डेन्टल अमल्गमको प्रयोगबाटै पाठ्यक्रम परिमार्जन गराउने तथा प्रयोगात्मक अभ्यासमा मर्करी अमल्गमको प्रयोगमा प्रतिबन्ध लगाइएको हो।

यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट विसं २०६९ फागुन २१ मा मर्करीयुक्त उपकरणको आयात, खरीद तथा प्रयोगमा आर्थिक वर्ष २०७०र७१ देखि पूर्णतया प्रतिबन्ध गर्ने निर्णय गरी प्रभावकारी कार्यान्वयनमा आइसकेको छ।

फलस्वरुप प्रायःजसो सबै अस्पतालले ज्वरो नाप्न मर्करीमुक्त डिजिटल थर्मामिटर तथा रक्तचाप नाप्न मर्करीमुक्त ऐनेरोइड स्फिगमोम्यानो मिटरको प्रयोग गर्न शुरु गरेका छन्।

वन तथा वातावरण मन्त्रालयले हालै सम्पन्न गरेको नेपालको मिनामाता प्रारम्भिक मूल्याङ्कन प्रतिवेदनले मर्करीयुक्त उपकरण र डेन्टल अमल्गमको आयात, बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने र दन्त चिकित्सा शिक्षाको पाठ्यक्रममा मर्करीमुक्त वैकल्पिक फिलिङहरु जस्तैः कम्पोजिट, गलासा आइनोमर, कम्पोमर आदिबारे यथेष्ट समावेश गरी उचित सुधार गर्नुपर्नेजस्ता सुझावको कार्यान्वयन गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

त्यस्तै, यस निर्णयले संयुक्त राष्ट्रसङ्घीय मिनामाता मर्करी महासन्धिले मानव गतिविधिबाट उत्सर्जित मर्करीको दुष्परिणामबाट स्वास्थ्य र वातावरण जोगाउन अन्तरराष्ट्रियरुपमा गरिएको प्रतिबद्धता पूरा गर्न पनि सहयोग पुग्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्