झापामा अनियन्त्रित बन्दै डेङ्गुः बढे ५ सय भन्दा बढी बिरामी



३० भदौ २०७६, काठमाडौं

गत ३ महिनाअघि देखा परेको डेङ्गु रोग झापामा भने अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्ला स्वास्थ्य कार्यालय झापासहित स्थानीयले समेत प्रभावकारी काम गर्न नसक्दा डेङ्गु रोग नियन्त्रणमा आउन नसकेको हो।

जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार झापामा अहिले पनि डेङ्गुका रोगी ५ सय भन्दा बढी छन्। उनीहरुको झापाका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कुलबहादुर पौडेलले जानकारी दिए। उनका अनुसार यस्तै अवस्था रहे झापामा पनि सङ्कट आउन सक्छ।

डेङ्गु नियन्त्रणका लागि गत वर्षसम्मका कार्यक्रम सकिए पनि यस वर्ष कुनै कार्यक्रम नआएको पौडेलको भनाइ छ। स्थानीय तहले डेङ्गु नियन्त्रणका लागि चासो दिनुपर्ने भन्दै जिल्ला स्वास्थ्य कार्यालयसँग कुनै पनि नगरपालिका तथा गाउँपालिकाले सहयोग नमागेको पौडेलले बताए।

डेङ्गुका कारण झापामा हालसम्म दुई जनाको मृत्यु भइसकेको छ। यो वर्ष झापामा कसैको मृत्यु नभए पनि यसरी नै बिरामीको सङ्ख्या बढ्दै गएमा भयावह अवस्था सिर्जना हुनसक्ने पौडेलले बताए।

प्रतिक्रिया दिनुहोस्