
३० भदौ २०७६, काठमाडौं
कलैया अस्पतालमा विगत एक वर्षदेखि स्वास्थ्यकर्मी र औषधिको अभाव हुँदा बिरामीहरुलाई स्वास्थ्य उपचारमा समस्या भएको छ।
कलैया उपमहानगरपालिका–६,कलैयाको मुख्य चोकदेखि दक्षिणतर्फ रहेको अस्पतालमा जिल्लाका विभिन्न गाँउ र जिल्ला बाहिरबाट बिरामीहरु स्वास्थ्य उपचारका लागि आउने गरे पनि उपचार अभावमा उनीहरु निराश भएर फर्किनुपर्ने बाध्यतामा छन्।
कलैया उपमहानगरपालिका–८, बरेवाका ३८ वर्षीय रामप्रसाद यादवले २१ वर्षीया आफन्त पिङ्की यादव बिरामी भएर आए पनि दुई घण्टापछि मात्र स्वास्थ्यकर्मी आएको गुनासो गरेका छन्। उनले निःशुल्क पाउने औषधि फार्मेसी बन्द रहेकाले निजी औषधि पसलबाट किनेर ल्याउन बाध्य भएको गुनासो गरे।
कलैया अस्पतालमा विगत एक वर्षदेखि स्वास्थ्यकर्मी र औषधिको अभाव हुँदा बिरामीलाई समस्या भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रेमशङ्कर चौरसियाले बताए। उनले प्रत्येक दिन विभिन्न रोगका बिरामी उपचारका लागि कलैया अस्पतालमा आउने गरे पनि चिकित्सक र औषधि नभएकाले समस्या भएको गुनासो गरे।
अस्पतालमा ऐनेस्थेसिया, जनरल हेल्थ, सर्जरी, पेडियाट्रिक, स्त्री तथा प्रसुति रोग, जनरल नर्सिङलगायतका सेवा लिन बिरामी आउने गरेको चौरसियाले जानकारी दिए।
प्रसूति, गर्भवती, टाउको दुखेको, भाइरल ज्वरो, रुघाखोकी, दुर्घटनामा परेकाको हार्डजोर्नी तथा नशाको उपचार, एक्सरे गर्नुपर्नेमा आवश्यक ४० प्रकारका औषधि नभएकाले व्यावस्थापन हुन नसकेको उनको भनाइ छ।
१५ महिनादेखि औषधि खरिद नभएकाले स्टक सकिँदै गएर अभाव भएको उनले बताए। चौरासियाका अनुसार कलैया अस्पतालमा चिकित्सकसहित ६० जनाको दरबन्दी रहेता पनि स्थायी चिकित्सक एक जना पनि छैनन्।
अस्पतालमा हाल ४ जना छात्रावृत्ति करारमा ६ महिनाका लागि र करारमा ३ जना गरी जम्मा ७ जना एमबिबिएस चिकित्सक छन्।





