
३० भदौ २०७६, काठमाडौं
त्रिवि चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)का डीन प्राडा जगदीश अग्रवालमाथि दुर्व्यवहार भएपछि दुई संस्थाले विरोध गर्न थालेका छन्। नेपाल चिकित्सक संघ (एनएमए) र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) महाराजगञ्ज क्याम्पसले घटनाको विषयमा छानवीन गरी दोषीमाथि कानुनी कारवाही गर्ने माग राख्दै विरोधमा जुटेका हुन्।
उनीहरुले आइतबार अवेर राती विज्ञप्ती जारी गर्दै एनएमएले राजधानीको केन्द्रमा रहेको आईओएममा समेत चिकित्सकलाई बदनाम गर्ने र चरित्र हत्या गर्ने जस्ता गतिविधिले देशभरका चिकित्सक कसरी सुरक्षित हुन सक्छन् भन्दै सरकारसमक्ष प्रश्न गरेका छन्।
महासचिव डा. लोचनकार्की द्धारा जारी विज्ञप्तीमा यस्ता गतिविधिलाई नियन्त्रण गर्न हाल मन्त्रिपरिषदमा बिचाराधिन रहेको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी ऐन २०६६ र सो को नियमावली २०६९’ मा बिना धरौटी जेल चलानको प्रावधान थप गरी गरी यथासिघ्र पारित गर्न समेत माग गरिएको छ।
यस्तै, महाराजगञ्ज क्याम्पसका स्ववियू सभापतिद्धारा जारी विज्ञप्तीमा प्राडा अग्रवालप्रति गरिएको दुर्व्यवहार प्रति भत्सर्ना गर्दै सत्य तथ्य छानवीन गरी दोषीमाथि कारवाही गर्न माग गरिएको छ।





