डेङ्गुको प्रकोपको विषयमा सभामुखद्वारा सरकारको ध्यानाकर्षण



२६ भदौ २०७६, काठमाडौं

प्रतिनिधिसभाको आज (बिहिबार) बसेको बैठकमा सभामुख कृष्णबहादुर महराले हालै मुलुकभर प्रकोपका रुपमा देखिएको डेङ्गुको विषयमा सरकारको ध्यानाकर्षण गराउदैँ यस विषयमा यथासक्य छिटो सदनलाई जानकारी गराउन निर्देशन दिएका छन्।

प्रतिनिधसभामा केही दिन अगाडिदेखि तथा आजको शून्य समयमासमेत सांसदहरुले डेङ्गु प्रकोपको बारेमा सरकारको ध्यानाकर्षण गराएपछि सभामुख महराले सरकारको नाममा विशेष रुलिङ गरेका हुन्।

सभामुख महराले भने,“केही दिनयता भएका संसद्को बैठकमा नियमितजसो डेङ्गुबारे माननीयहरुले कुरा उठाउँदै आउनुभएको छ, उक्त रोगको प्रकोपको अवस्था र नियन्त्रणका लागि भइरहेको प्रयासबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउदछु।”

आजको बैठकको शून्य समयमा सत्तारुढ तथा प्रतिपक्षी दलका सांसदहरुले मुलुकमा डेङ्गु रोगको महामारी फैलिएको भन्दै सरकारको स्पष्ट जवाफ माग गरेका थिए।

उनीहरुले महामारीको रुपमा फैलिएको भनिएको डेङ्गुको प्रकोपको अवस्था र रोग नियन्त्रणका लागि भएको प्रयासबारे यथाशीघ्र सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका थिए।

शून्य पक्षमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सांसद कृष्णगोपाल श्रेष्ठले डेङ्गुको सरकारले स्पष्ट जानकारी नदिएको भन्दै तत्काल यो विषय सदनलाई जानकारी गराउन माग गरे।

“अब कतिजना सांसदलाई डेङ्गो भएपछि सरकारको ध्यानाकर्षण हुने हो? यस विषयमा स्वास्थ्यमन्त्रीले जवाफ दिनुपर्यो,” उनले भने । नेकपाकै सांसद खगराज अधिकारीले डेङ्गो रोगको प्रकोप हो या महामारीकै रुप लिएको हो? भनी प्रश्न गर्दै यसबारे सरकारको स्पष्ट धारणा माग गरे।

प्रतिक्रिया दिनुहोस्