एक किशोरीलाई सामूहिक बलात्कार, नौजनालाई पक्राउ एक फरार



२४ भदौ २०७६, काठमाडौं

नवलपरासीमा १९ वर्षीया किशोरीलाई नजिकैको उखुबारीमा लगेर १० जनाको समूहले बलात्कार गरेको छ ।

एक सहकर्मी युवकसँग मोटरसाइकलमा कार्यालय जाने क्रममा किशोरीमाथि १० जनाको समूहले सामूहिक बलात्कार गरेको हो ।
मोटरसाइकल रोकेर युवक फोनमा कुरा गरिरहेका वेला सो समूहले नियन्त्रणमा लिएर कुटपिट गरेको र किशोरीलाई नजिकै उखुबारीमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । सबैले पालैपालो बलात्कार गरेपछि भागेका थिए ।

घटनाको एक घन्टापछि पीडितहरू इलाका प्रहरी कार्यालय पुगेका थिए । उजुरीलगत्तै पीडित किशोरीलाई अस्पताल लगेर प्रहरी अभियुक्तहरूको खोजीमा लागेको थियो । घटनामा संलग्न नौजनालाई प्रहरीले पक्राउ गरेको, एकजना भने अझै फरार रहेको इन्स्पेक्टर प्रकाश श्रीमलले बताएका छन् । पीडित किशोरी खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

बलात्कारमा संलग्नहरू १९ देखि ४० वर्षसम्मका छन् । १९ वर्षका अमरनाथ भेडियार र पिन्टु राजभर, २२ वर्षका सन्दीप यादव, शिवराज राजभर र राजु भेसहर तथा २५ वर्षीय मनमोहन राजभर, ३२ वर्षीय सुरेन्द्र यादव, ३७ वर्षीय भीमललवा मुसहर र ४० वर्षीय नेत्र चौधरी पक्राउ परेका हुन् । उनीहरू सबै सुस्ता–३ कै भएको प्रहरीले जनाएको छ । तर, पीडितहरूसँग उनीहरूको चिनजान नभएकोसमेत प्रहरी बताउँछ । उनीहरूलाई जबर्जस्ती करणी मुद्दामा अदालतबाट म्याद थपेर हिरासतमा राखिएको नवलपरासीका प्रहरी प्रमुख एसपी लालमणि आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्