महानिर्देशक डा.सुशीलनाथ प्याकुरेलले पाए अवकाश



२३ भदौ २०७६, काठमाडौं

एक बर्ष म्याद थप्ने प्रस्ताव मन्त्रिपरिषदबाट निर्णय नभएपछि स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सुशीलनाथ प्याकुरेलले आइतबारबाट अनिवार्य अवकाश पाएका छन्।

दुई साता अघि स्वास्थ्य तथा जनसंख्यले डा. प्याकुरेलको एक बर्ष म्याद थप गर्न मन्त्रिपरिषदमा प्रस्ताव दर्ता गराएको थियो।

प्रमुख विशेषज्ञ (१२ औँ तह) का डा प्याकुरेलको ६० वर्षे अवधी आइतबार (हिजो) पुरा भएको थियो।

स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले डा प्याकुरेलको म्याद थप नभएको पुष्टी गरे। ‘हामीले त प्रस्ताव गरेका थियौँ। तर त्यो मन्त्रिपरिषदबाट निर्णय हुनुपर्ने थियो । त्यो भएन । त्यसैले उहाँले अवकाश पाउनुभयो सायद,’ उनले भने।
मन्त्रालयले स्वास्थ्य सेवा ऐन २०५३ को दफा ४५ को उपदफा २ अनुसार उनको पदावधी थप गर्न प्रस्ताव गरिएको बताएको थियो।

अनिवार्य अवकाश सम्वन्धी दफा ४५ को उपदफा १ ले ६० बर्ष उमेर पुरा भएको व्यक्तिलाई अनिवार्य अवकाशको व्यवस्था गरेको छ। तर, सोही दफाको उपदफा २ ले उपदफा १ मा जुनसुकै कुरा लेखिएको भएता पनि नेपाल सरकारलाई विशेषज्ञ सेवा अत्यावश्यक भएमा ६० बर्ष पुराभई अवकाश हुने कर्मचारीलाई बढीमा तीन बर्षको अवधी थप्न सकिनेछ भनेको छ।

तर, मन्त्रालयको यो प्रस्ताव पठाउँदै समेत चिकित्सा बृत्तमै विरोध भएको थियो।

‘महानिर्देशक पदका लागि भन्दा पनि विशेषज्ञ पदका लागि यो व्यवस्था थियो। र सुशीले विशेषज्ञ पनि होइनन र म्याद थपेर महानिर्देशकमा बस्न त झनै मिल्ने थिएन । धन्न निर्णय गरिएन। नत्र झनै विवादित हुने थियो,’ मन्त्रालयका एक उच्च अधिकारीले भने।

प्रतिक्रिया दिनुहोस्