राज्यमन्त्री डा. यादवले गरे जनकपुरस्थित जानकी वृद्धा आश्रमका वृद्धाहरुको स्वास्थ्य जाँच



२२ भदौ २०७६, काठमाडौं

संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र यादवले जनकपुरस्थित जानकी वृद्धा आश्रमका वृद्धाहरुको स्वास्थ्य चेकजाँच गरेका छन् ।

शनिबार बिहान व्युटिसियन एसोशिएसन धनुषाले आश्रममा आयोजना गरेको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रमलाई उद्घाटन गर्दै राज्यमन्त्री डा. यादवले केही वृद्धाहरुको स्वास्थ्य परीक्षण आफैंले गरेका थिए ।

स्वास्थ्य जाँच गर्दै उनले स्वास्थ्य रहन खानपिन, उठबस तथा अपनाउनुपर्ने संयमताको विषयमा वृद्धाहरुलाई सल्लाह सुझाव दिएका छन् । वृद्धामा बढी दम रोगको शिकायत रहेको राज्यमन्त्री यादवको भनाई छ । उनले आश्रमका वृद्धाहरुको निःशुल्क स्वास्थ्योपचार र औषधिको व्यवस्था गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका छन् ।

शिविरमा वृद्धाहरुलाई निःशुल्क औषधि समेत प्रदान गरिएको थियो । वृद्धाआश्रममा अहिले १६ जना वृद्धाहरु रहेका छन् । जानकी वृद्धा आश्रममा सन्तान नभएका तथा सन्तानबाट पीडित वृद्धाहरु बस्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्