कोशी–ल्हासा राजमार्गमा यात्रुलाई सास्ती



२२ भदौ २०७६, काठमाडौं

सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको टुटेदेउरालीबाट मुडेबजारसम्म निस्कने राष्ट्रिय गौरवको किमाथाङ्का नाका खोल्ने कोशी–ल्हासा राजमार्गअन्तर्गत पर्ने छ किमी सडक पार गर्न औसतमा पाँच घण्टा लाग्ने गरेको छ ।

सडक खण्डभरि खाल्डो र हिलाम्मे भएकाले आवत–जावत गर्न पाँच घण्टादेखि कहिलेकाहीँ एक दिनसमेत लाग्ने गर्दछ । हिलाम्मे सडकमा फसेको गाडी निकाल्न नसकेमा रातसमेत त्यहीँ बित्ने गरेको सवारी चालक बताउँछन् । त्यति मात्रै होइन, सदरमुकाम खाँदबारी चैनपुरबाट धनकुटा, धरान, विराटनगर, काठमाडौं र सङ्खुवासभा फर्किएका यात्रु टुटेदेउराली–मुडे सडकखण्ड बीचमा नै अलपत्रमा परेका छन् ।

टुटेदेउरालीदेखि मुडेसम्म तीन–चार किमी सडकको दोबाटे र गिद्रे भन्ने ठाउँमा गाडी पार गर्न नसकेमा त्यहीँ बास हुने गरेको ती यात्रुको गुनासो छ । प्रायः जसो पानी परिरहने भएकाले जहिल्यै सडक हिलाम्मे भइरहने गर्दछ । हिलाम्मे सडकमा जबर्जस्ती ठूला–ठूला ढुवानीका साधन ट्रक र ट्र्याक्टरले बाटो बिगारेका छन् । मोटरसाइकल र साना–साना यात्री बोक्ने सवारी साधन आवत–जावत गर्न मुस्किल छ । सडकको दायाँबायाँ पूर्णरूपमा हिलाम्मे भएकाले पैदल हिँड्ने यात्रुसमेतलाई आवत–जावत गर्न समस्या भएको, काम गर्दागर्दै ठेकेदारले काम बन्द गरेकाले झन् समस्या बल्झिएको मुडेका स्थानीयवासी माधव सुवेदीले बताउनुभयो ।

कोशी–ल्हासा राजमार्गअन्तर्गत पर्ने सडक मर्मतसम्भार र कालोपत्र गर्ने काम सङ्घीय सरकारअन्तर्गतको सडक डिभिजन कार्यालयको जिम्मेवारीमा रहेको छ । यो सडक धर्मदेवी नगरपालिकाभित्र पर्ने भएकाले गन्तव्यमा हिँडेका यात्रुको बीच बाटोमा नै अलपत्र नहोस् भनेर फसेको गाडी निकाल्नका लागि नगरपालिकाको एस्काभेटर प्रयोग गरेर निकाल्न सहयोग गरिरहेको नगरपालिकाका प्रमुख रमेशकुमार जिमीले बताउनुभयो । सडकको अवस्था दर्दनाक भएकाले कालोपत्र गर्नका लागि सरोकारवाला सबैलाई ध्यानाकर्षण गराउँदै आएको तर सुनुवाइ नभएको उहाँले गुनासो गर्नुभयो ।

जिल्ला सडक डिभिजन कार्यालय तुम्लिङाटारले ०७३ भदौमा टुटेदेउरालीबाट मुडेसम्म जम्मा १० किमी सडक कालोपत्र गर्ने जिम्मा याक्थुम्हाङ निर्माण सेवा पाँचथरलाई दिएको थियो । रु २६ करोडको लागतमा याक्थुम्हाङले ०७५ भदौसम्म निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो । समयावधिभित्र काम नसकेपछि ०७५ चैत्र मसान्तसम्म दोस्रो पटक म्याद थप भएको थियो । त्यो अवधिमा पनि काम सम्पन्न नगरेपछि याक्थुम्हाङ निर्माण सेवालाई गत साउनमा रु १४ लाख ५० हजार जरिवाना तिराएको तुम्लिङटार डिभिजन सडक कार्यालयका प्रमुख कुवेर नेपालीले बताउनुभयो ।

कालोपत्र गर्ने जिम्मा लिएको याक्थुम्हाङ निर्माण सेवालाई ताकेता गरिरहेकोले, अब पानी पर्न कम भएपछि लगातार काम थाल्ने सडक कार्यालयका प्रमुख नेपालीले बताउनुभयो । याक्थुम्हाङको अब आउने जेठसम्म समयसीमा छ । यो समयभित्र सबै काम सक्नुपर्छ । बर्खाको समयमा निरन्तर पानी परेर नियमित काम नभए पनि गाडी आवत–जावतमा सहज पार्न याक्थुम्हाङलाई एउटा एस्काभेटर तयारी अवस्थामा त्यही राख्न भनेको डिभिजन प्रमुख नेपालीको भनाइ छ ।

मोरङको जोगमुनीदेखि उत्तरी तिब्बती नाका किमाथाङ्कासम्म जोडिने कोशी–ल्हासा राजमार्गसमेत भएकाले सबैले महत्वका साथ हेरेका छन् । किमाथाङ्का नाका जोडिनाका साथै बहुचर्चित ९०० मेगावाट अरुण तेस्रो आयोजना जाने सडकसमेत यहीँ भएकाले सडकको बिग्रँदो अवस्थाले सामान ढुवानी गर्न समस्या भइरहेको स्थानीय व्यापारीले बताउने गरेका छन् । त्यसैले पनि जतिसक्दो चाँडो यो सडक कालोपत्र गरिनुपर्ने सरोकारवालाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्