डेङ्गुको संक्रमण फैलन नदिन खोज र नष्ट अभियान शुरु



२१ भदौ २०७६, काठमाडौं

डेङ्गुको संक्रमण फैलन नदिन यहाँ ‘खोज र नष्ट गर’ अभियान शुरु भएको छ। जिल्लामा डेङ्गु बिरामी भेटिएपछि सरोकार भएका पक्षले उच्च सतर्कता अपनाएका हुन्।

स्वास्थ्य कार्यालय बागलुङका अनुसार शुक्रबार सदरमुकामभित्र लामखुट्टेको सम्भावित बासस्थानको खोजी गरी नष्ट पार्ने काम भएको छ। खाल्डाखुल्डी, पुराना टायर, ड्रम आदिमा जम्मा भएको पानी खाली गरी सफाइ गरिएको थियो।

“सचेतनामूलक प्रभातफेरीसँगै सम्भावित ठाउँको सरसफाइ पनि ग¥यौँ” स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ सुपरभाइजर देवप्रकाश घिमिरेले भने। निजामती सेवा दिवस–२०७६ मूल समारोह समितिले सचेतनामूलक कार्यक्रमको आयोजना गरेको हो।

स्वास्थ्य कार्यालय, बागलुङ नगरपालिकालगायतका सङ्घसंस्थाले अभियानको संयोजन गरेका थिए। प्रभातफेरीमा निजामती कर्मचारीसहित, सेना, प्रहरी, सामाजिक अभियन्ता, स्वयंसेवक, पत्रकारलगायत सहभागी थिए। सो अवसरमा सर्वसाधारणलाई डेङ्गु रोगसम्बन्धी सन्देशमूलक पर्चासमेत वितरण गरिएको थियो।

स्वास्थ्य कार्यालयले सदरमुकाममा ‘माइकिङ’ र सञ्चारमाध्यममार्फत सचेतना जगाउने काम पनि गरिरहेको छ। जोखिम रहेसम्म ‘खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिईनेछ।

शुक्रबार नै गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयको निर्देशनमा अस्पताल, स्वास्थ्यकर्मी, औषधि व्यवसायीबीच डेङ्गु नियन्त्रणका विषयमा छलफल भएको छ। शनिबार मजदुर र श्रमिकबीचमा डेङ्गु रोगसम्बन्धी सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ।

जिल्लाका १० स्थानीय तहले पनि डेङ्गुविरुद्ध सचेतनामूलक कार्यक्रम गर्न शुरु गरेका छन्। स्वास्थ्य कार्यालयले डेङ्गुको शङ्का लागेमा तुरुन्त धवलागिरि अञ्चल अस्पतालमा जाँचको लागि आउन आग्रह गरेको छ। “शङ्कास्पद बिरामीलाई अल्झाएर नराखी तुरुन्त अञ्चल अस्पतालमा पठाउन अन्य स्वास्थ्य संस्थालाई पनि अनुरोध गरेका छौँ”, क्षयकुष्ठ सुपरभाइजर घिमिरेले भने।

डेङ्गु जाँच र उपचार सेवा अञ्चल अस्पतालमा मात्र उपलब्ध छ। अस्पतालका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालका अनुसार लक्षण देखिनासाथ डेङ्गुको जाँच गर्ने गरिएको छ। “जाँच र उपचारका लागि अस्पताल सधैँ तयारी अवस्थामा छ”, उनले भने। जाँचका लागि आएका एक जनामा डेङ्गु सङ्क्रमण भेटिएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्