सिएमसीबाट पीडित श्रमिकहरुको बाँकी रकम भुक्तानी दिन मन्त्रालयले प्रक्रिया सुरु गर्याे



१९ भदौ २०७६, काठमाडौं

सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनस्थलमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा तीन प्रहरी र दुई आन्दोलनकारी घाइते भएका छन् ।

आन्दोलनकारीले प्रहरीमाथि ढुङ्गा मुढा प्रहार गर्दा प्रहरीतर्फ प्रहरीहरु उमेश भुजेल, रञ्जित गुरुङ र कुमार नेपाली गरी तीन जना घाइते भएका हुन् । मेलम्ची आयोजनाको निर्माण कम्पनी सिएमसी दि रेभेनाले स्थानीय श्रमिक, भेण्डर तथा सप्लायर्स कम्पनीहरुलाई दिनुपर्ने बाँकी रकम भुक्तानी नदिई काम छाडेर हिंडेपछि उनीहरुले रकम माग गर्दै आन्दोलन गरिरहेका छन् ।

यसैबीच आयोजनाको काम छाडेर हिंडेको ठेकेदार कम्पनी सिएमसीबाट बाँकी भुक्तानीको माग गरिरहेका स्थानीय श्रमिकहरुलाई राहत स्वरुप भुक्तानी दिन अर्थ मन्त्रालय सकारात्मक देखिएको छ ।

स्थानीय श्रमिक मजदुरहरुले भुक्तानी नपाएसम्म काममा अवरोध गर्ने बताईरहेका बेला खानेपानी मन्त्रालयले श्रमिकहरुको माग सम्बोधन गर्न प्रक्रिया अघि बढाएको छ । सिएमसी कम्पनीबाट पीडित स्थानीय श्रमिकहरुलाई राहत स्वरुप पाउनुपर्ने बाँकी रकम भुक्तानी दिन मन्त्रालयले यस सम्बन्धी फाइल अर्थ मन्त्रालयमा पठाएको छ । अर्थ मन्त्रालयबाट सहमति लिईसकेपछि मन्त्रिपरिषद् बाट यस सम्बन्धी आवश्यक निर्णय भई स्थानीय श्रमिकहरुलाई बाँकी रकम भुक्तानी दिन बाटो खुल्नेछ ।

आफूले पाउनुपर्ने रकम दाबी गरेका भेण्डर तथा स्थानीय सप्लायर्सहरुको मागका सम्बन्धमा भने अध्ययन प्रतिवेदन पेश गर्न खानेपानी मन्त्रालयका खानेपानी महाशाखा प्रमुखको संयोजकत्वमा ६ सदस्यीय प्राविधिक समिति गठन भईसकेको छ ।
मन्त्रालयका खानेपानी महाशाखा प्रमुखको नेतृत्वमा बनेको समितिले सिएमसी कम्पनीबाट बाँकी भुक्तानी पाउन स्थानीय भेण्डर तथा सप्लायर्स कम्पनीहरुले दाबी गरेको रकमका सम्बन्धमा आवश्यक अध्ययन गर्नेछ । समितिले भेण्डरहरुले माग गरेको रकमका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन तयार पारेर मन्त्रालयमा पेश गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्