
१६ भदौ २०७६, काठमाडौं
डडेल्धुरामा स्क्रब टाइपस रोगको संक्रमण फैलिन थालेको छ।
डडेल्धुरा अस्पतालले १० दिनमा १ सय २० जनालाई चेकजाँच गर्दा २७ जनामा स्क्रब टाइपस रोगको संक्रमण देखापरेको हो।
भाद्र ५ गतेबाट १५ गतेसम्म १ सय २८ जना ज्वरो भनेर आएकालाई चेकजाँच गर्दा १० दिनमै २७ जना भेटिएको डडेल्धुरा अस्पतालका प्रयोगशाला प्रमुख इश्वरीप्रसाद भुषालले जानकारी दिए।
उनले भने, अन्य जिल्लामा डेंगुको संक्रमण बढदै छ, यता स्क्रब टाइपस फैलिरहेको छ।
डडेल्धुरा अस्पतालमा बझाङ, बैतडी, डोटी, दार्चुलाका बिरामी आउने गरेका छन्। २७ जनामा डडेल्धुराका मात्र बिरामी नभई अन्य जिल्लाको पनि रहेको प्रयोगशाला प्रमुख भुषालले बताए।
पछिल्लो समय प्राणघातकका रुपमा फैलिएको स्क्रब टाइपस मुसाबाट मानिसमा सर्ने गरेको छ। स्क्रब टाइपस रोग लागेमा ज्वरो आउने, मांसपेसी, दुख्ने अत्यधिक टाउको दुख्ने, पसिना आउने, खोकी लाग्ने जस्ता लक्षण देखापर्ने डडेल्धुराका डा उत्तम भट्टले बताए।
स्क्रब टाइपसको प्रमुख लक्षण छालामा घाउ देखिने भए पनि बढीजसो उपक्षेत्रीय अस्पताल डडेल्धुरामा लामो समयदेखि टाउको दुख्ने, आँखाको नानी दुख्ने सुक्खा खोकी लाग्ने ज्वरो आउने लक्षणका बिरामी आउने गरेको डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट जितेन्द्र कँडेलले बताए।
व्यक्तिगत स्वास्थ्यमा ध्यान नदिँदा यो रोगको संक्रमण बढ्ने भएकाले पूरै शरीर ढाक्नेगरी लुगा लगाउने, खुला ठाउँमा शौच नगर्ने र स्क्रब टाइपसका उल्लेखित लक्षणहरुमध्ये कुनै पनि देखापरेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा गई डाक्टरसँग परामर्श लिनुपर्ने उनले बताए।
गत वर्ष असोजको तेस्रो साता पहिलो पटक देखापरेको यो रोगको संक्रमण दुई साता नबित्दै ३३ जनामा देखापरेको थियो। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले रोगको संक्रमण अझ बढी भएको हुनसक्ने आशंका गरेको छ।
निर्देशनालय प्रमुख डा. गुणराज अवस्थीले अहिले देखिएको संक्रमण संख्या अस्पताल डडेल्धुरामा परीक्षणका लागि ल्याइएका केस मात्रै भएको भन्दै अन्य जिल्लाका दुर्गम भेगहरुमा यो संख्या अझ बढी हुनसक्ने बताए।
सुदूरपश्चिम प्रदेशमा यस पटक किटजन्य रोगले सताएको भन्दै आम सर्वसाधारणलाई सचेत रहन डा अवस्थीले आग्रह गरे।





