भक्तपुर अस्पतालमा फेला पर्याेः १२ जना डेङ्गु संक्रमित



१५ भदौ २०७६, काठमाडौं

देशभरि फैलिदै गएको डेङ्गुको असरले भक्तपुर जिल्लालाई पनि उच्च जोखिममा पारेको छ।

जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत पार्थमणि न्यौपानेले गत वर्षभन्दा यस वर्ष चार दोब्बर डेङ्गुको बिरामी भेटिएकाले यो जिल्ला डेङ्गुको उच्च जोखिममा परेको जानकारी दिएको हो।

भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित अहिलेसम्म १२ जनामा डेङ्गुको सङ्क्रमण फेला परेको हो। अहिले दुई जनाको सोही अस्पतालमा र अन्यको टेकु अस्पतालमा उपचार भइरहेको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रविभूषण सुवालले जानकारी दिए।

यहाँ डेङ्गुको सङ्क्रमण परीक्षण कीटको व्यवस्था नहुँदा टेकु अस्पतालमा जचाउन पठाउनु परेको उनले बताए।

जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत न्यौपानेका अनुसार गत वर्ष तीन जनामा मात्रै डेङ्गु देखिएको र यस वर्ष डेङ्गु सङ्क्रमण बढेपछि जिल्लाका सबै स्वास्थ्य चौकी, नगर जनस्वास्थ्य चौकी र सञ्चारमाध्यममार्फत गाउँगाउँमा यसबारे जनचेतना फैलाउने अभियान शुरु गरिएको छ।

प्रतिक्रिया दिनुहोस्