
१५ भदौ २०७६, काठमाडौं
डेङ्गुको संक्रमणबाट डोटीमा एकजनाको मृत्युपश्चात रोकथामका अभियान सुरु गरिएको छ।
डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ६ थाप्लाकी ४२ वर्षीया छत्रकुमारी मलासी ‘छायाँ’ को डेंगुका कारण भदौ ५ गते मृत्यु भएको थियो।
डेंगु फैलिएपछि शनिबार थाप्ला गाउँमा जिल्लाका सरोकारवालाहरुको संयुक्त टोलीले डेंगु बारेमा जानकारी गराउनका साथ डेङ्गु रोग सार्ने एडिस लामखुट्टेको फुल पार्ने स्थानको खोजी र नष्ट गर्ने कार्य गरिएको छ।
दिपायल सिलगढी नगरपालिका प्रमूख मञ्जु मलासी, जिल्ला समन्वय समिति उप–प्रमूख शशी शोव, डोटीका प्रमूख जिल्ला अधिकारी टेकनारायण पौडेल, प्रहरी प्रमूख प्रहरी उपरिक्षक विद्यानन्द माझी, स्थानीय जनप्रतिनिधी, जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर भुषण मिश्रलगायतको टोलीले डेंगु रोग सार्ने एडिस लामखुट्टेको फुल पार्ने स्थानको खोजी र नष्ट गर्ने कार्य गरेको थियो।
स्वास्थ्य कार्यालय डोटीका विष्णुराज जोशीले थाप्ला गाउँमा जाँदा टाईगर मस्क्विटो भनेर चिनिने एडिस प्रजातीको लामखुट्टे फेला परेको बताए।
उनले आसपासका स्थानमा पनि एडिस लामखुट्टेले पानीमा फुल पारेको भेटिएको र उक्त फुलहरु नष्ट पारिएको जानकारी दिए।
दिपायल सिलगढी नगरपालिका स्वास्थ्य इकाइ संयोजक राजु खड्काले शुक्रबार दिपायल सिलगढी नगरपालिका भित्रका स्वास्थ्यचौकी र नगर स्वास्थ्य केन्द्रका प्रमुखहरुसँग डेंगु रोग राकथामका बारेमा समन्वय बैठक तथा अभिमूखिकरण सम्पन्न गरिएको बताए।
साथै दिपायल र सिलगडीका स्वास्थ्यकर्मीले महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई पनि रोगबारे अभिमुखिकरण गराएको छ।





