सुत्केरी महिलाले पाउनुपर्ने भत्ता नगरपालिकाबाटै गायब



१२ भदौ २०७६, काठमाडौं

सुत्केरी महिलाले पाउने सुविधा बाजुराको बूढीनन्दा नगरपालिकाबाटै गायब भएको छ।

१ सय ८८ जना सुत्केरी महिलाहरुले पाउने भत्ता नपाएर नगरपालिकाको स्वास्थ्य शाखाले नै गायब गरेको आरोप लगाइएको हो।

आर्थिक वर्ष २०७५र७६ मा स्वास्थ्य संस्थामा सुत्केरी गराएवापतको रकम उपलब्ध नगराएको तथ्य सार्वजनिक भएपछि उक्त रकम सम्बन्धित शाखाका पदाधिकारीले नै दुरुपयोग गरेको तथ्य सार्वजनिक भएको हो।

दुर्गम पहाडी क्षेत्रका महिलाले संस्थागत सुत्केरी गराएवापत पाउने रु. ३ हजार र नियमति चारपटक गर्भ जाँचवापतको रु. २ सय का दरले ८ सय गरी ३ हजार ८ सय सहित न्यानो झोला पाउने व्यवस्था गरिएको थियो।

गत चैत १ गते सुत्केरी गराए पनि आफूले उक्त भत्ता नपाएको पाण्डुसैनकी बिउरा रावलले जानकारी दिए।

उक्त नगरपालिकामा मात्रै १सय ८८ महिलाले सुत्केरी गराएवापतको रकम पाएका छैनन्।

तीमध्ये कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा १३६, पाण्डुसैन स्वास्थ्यचौकीमा ३४ र बाँधु स्वास्थ्यचौकीमा १८ ले सो भत्ता पाउन सकेका छैनन्।

उक्त रकम नगरपालिकामा आइसके पनि स्वास्थ्य संयोजकसहितको टोलीले खबर नगरेको आरोप सम्बन्धित स्वास्थ्यचौकीले नै लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्