
११ भदौ २०७६, काठमाडौं
नेत्र ज्योति सङ्ग कास्कीद्वारा सञ्चालित हिमालय आँखा अस्पताल, पोखराले स्थापनाको साढे दुई दशकमा २० लाख आँखाका बिरामीको उपचार गरेको छ भने साढे चार लाखको मोतियाविन्दुको शल्यक्रिया गरेको छ।
साविकका गण्डकी, धौलागिरि र कर्णाली अञ्चललाई मुख्य सेवा क्षेत्र बनाएको अस्पतालबाट दैनिक ५०० बिरामीले आँखाको उपचार सेवा लिँदै आएको हो।
अघिल्लो वर्ष मात्रै एक लाख ४६ हजार बिरामीले आँखा उपचार सेवा लिएको र तीमध्ये आठ हजार २०० जनाको शल्यक्रिया गरिएको अस्पतालका प्रमुख निर्देशक डा. इन्द्रमान महर्जनले जानकारी दिए।
स्थापनाकालदेखि नै अस्पतालको सेवाको गुणस्तरीयतालाई प्राथमिकतामा राखिएको बताउँदै उनले आगामी दिनमा अझै सुव्यवस्थित गर्दै लगिने बताए । अस्पतालको स्थापनामा आइकेयर फाउन्डेशन, नेदरल्याण्डले सहयोग गरेको हो।
आइकेयर फाउन्डेशन, नेदरल्याण्डका प्रमुख कार्यकारी अधिकृत ब्जोर्न स्तेन्र्वेसका अनुसार तत्कालीन समयमा भ्रमणमा आएको नेदरल्याण्डको टोलीले आफ्नो घुमाइका क्रममा नेपालमा आँखाको समस्या भएको कुरालाई मनन गर्याे।
नेपालबाट फर्किसके पछि यहाँ आँखाको उपचारमा केही गर्नुपर्छ भन्ने भावना विकसित भएसँगै हिमाली क्षेत्रबाट उक्त संस्थाले आफ्नो सेवा सुरु गरेको थियो।
नेपाल नेत्र ज्योति सङ्गसँग आबद्ध भई फाउन्डेशनले आँखा सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ।
साविकका गण्डकी, धौलागिरि र कर्णाली अञ्चललाई लक्षित गरी हिमालय आँखा अस्पतालले सेवा प्रवाह गरिराखेको नेपाल नेत्र ज्योति सङ्घ कास्कीका संस्थापक अध्यक्ष डा. नन्द श्रेष्ठले बताए।





