सुनवल नगरपालिकामा अस्पतालको स्थापनाः स्थानीयवासीमा छायो खुशीयाली



१० भदौ २०७६, काठमाडौं

नेपाल सरकारले पश्चिम नवलपरासीको सुनवल नगरपालिकास्थित सुनवल स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ श्ययाको प्राथमिक अस्पताल बनाउने प्रक्रिया शुरु गरेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ।

पाँच वर्ष्भित्र सबै स्थानीय तहमा कम्तीमा १५ श्ययाको अस्पताल र हाललाई २५१ स्थानीय तहमा प्राथमिक तहको अस्पताल स्थापना गरी सञ्चालनमा ल्याउने सरकारको नीतिअनुसार सुनवल स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल स्थापना गर्न लागिएको हो।

वडा नं ८ मा रहेको उक्त स्वास्थ्यचौकीमा हाल प्राथमिक उपचार मात्रै हुने भएकाले स्थानीयवासी उपचारका लागि बुटवल, भैरहवालगायतका अस्पताल जानुपर्ने बाध्यता रहेको छ।

सरकारले आधारभूत स्वास्थ्य सेवासहितको अस्पताल निर्माण गर्ने गरी प्रक्रिया थालेपछि स्थानीयमा खुशीयाली छाएको वडाध्यक्ष नीलकण्ठ गैरेले जानकारी दिए। “अस्पताल स्थापना हुने भएपछि यहाँका सबै स्थानीयवासी उत्साहित छन्”, उनले भने।

पूर्वपश्चिम राजमार्गबाट नौ किलोमिटरको दूरीमा रहेको सो स्वास्थ्यचौकीमा आधारभूत तहको स्वास्थ्य सेवा पनि नहुँदा यहाँका बिरामीले वर्षौँदेखि सास्ती भोग्दै आएका स्थानीयवासी कुलचन्द्र भण्डारीले बताए ।

नगरपालिकाभित्रै भए पनि भौगोलिक हिसाबले वडा नं ७ र ८ दुर्गम मानिन्छन्। विसं २०५३ मा स्थापना भएको सो स्वास्थ्यचौकीमा अहिले कार्यालय सहयोगीसहित सात जनाको दरबन्दी रहेको स्वास्थ्यचौकी इन्चार्ज अमृता कँडेलले बताइन्।

“यहाँ बिरामीको चाप नै छ, दैनिक ७०र८० बिरामीले सेवा लिने गरेका छन्, स्वास्थ्यचौकीबाट हामीले ल्याबसहितको प्राथमिक तहको उपचार सेवा दिँदै आएका छौँ”, उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्