सुत्केरी महिलालाई दुई केजी घ्यू, एक क्यारेट अण्डा र दुई केजी दाल वितरण



१० भदौ २०७६, काठमाडौं

बझाङको छविस पाथीभेरा गाउँपालिकाले ‘उपाध्यक्षसँग सुत्केरी महिला कार्यक्रम’मार्फत ४५ दिनभित्रका सुत्केरी महिलालाई दुई केजी घ्यू, एक क्यारेट अण्डा र दुई केजी दाल वितरण गरेको छ।

पोषणमा ध्यान नदिने यहाँका बासिन्दाको हितका लागि सो कार्यक्रम सञ्चालन गरिएको हो।

सुत्केरी महिलाको पोषणमा सुधार ल्याउनका लागि खानपानको शैली परिर्वतन गर्ने कार्यक्रम ल्याइएको गाउँपालिकाका उपाध्यक्ष राधिकाकुमारी जोशीले बताइन्।

गाउँमा प्रसस्त सिँचाइको सुविधा र जग्गा जमीन हुँदा पनि यहाँका सुत्केरी महिलाले पोषणयुक्त खाना नखाने गरेका कारण बालबालिकाको स्वास्थ्यमा समेत असर परेको उल्लेख गर्दै उनले भनिन्,“हामीसँग भएका खाद्य पदार्र्थ उपयोग गर्न नजानेका कारण पनि समस्यामा छौँ।

समय समयमा माछा मासु र मौसमअनुसारको तरकारी घरमै फलाएर खान नजानेका कारण कुपोषित भएका हौँ।

यो अभियान कुपोषण विरुद्धको हो”, गाउँपालिकाका प्रायः सबैजसोले परम्परागत ढङ्गले खेतीपाती गर्दै आएकाले आर्थिक स्थिति नाजुक हुनाका साथै यसले सुत्केरी महिलामा असर पारेकाले यो कार्यक्रम थालनी गरिएको उनले बताइन्।

घ्यू, अण्डा, दाल खरीद तथा वितरणका लागि एक लाख २९ हजार बजेट विनियोजन गरिएको उनको भनाइ थियो।

“सानै रकम भए पनि यसले गाउँपालिकाका सबै सुत्केरीको स्वास्थ्यमा ठूलो परिर्वतन ल्याउने आशा हामीले लिएका छौँ”, उपप्रमुख जोशीले भनिन्। सो कार्यक्रममार्फत ५६ सुत्केरी महिलालाई प्रोत्साहनस्वरुप घ्यू,अण्डा र दाल वितरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्