सर्पदंशको उच्च जोखिममा दाङ: उपचार केन्द्र छैन



१० भदौ २०७६, काठमाडौं

गत साउनमा राजपुर गाउँपालिका–७ भौवानाकामा सर्पदंशका कारण एकैपरिवारका दुई बालिकाको मृत्यु भएको थियो।

राजपुर गाउँपालिका–७ भौवानाका शेरबहादुर सार्कीका १३ वर्षीया करिश्मा सार्की र ११ वर्षीय सुजु सार्कीलाई गत महीना राती सर्पले टोकेपछि उपचारका लागि भारतमा लैजाँदै गर्दा बाटोमै निधन भएको हो।

समयमै उपचार नपाएका कारण दुई जनाकोे सर्पदंशका कारण अकालमै ज्यान गुमाउनु परेको परिवारको गुनासो छ।

उपचारका लागि भारतकै भर पर्नुपर्ने बाध्यतामा रहेका भौवानाका स्थानीयवासीले सर्पदंशको विगबिगी बढ्दा झनै समस्या भोग्ने गरेका छन् ।

मृतक बालिकाका बुबा शेरबहादुर भन्नुहुन्छ,“उपचार समयमै पाउनका लागि नजिकै अस्पताल भएको भए मैले अहिले यो नियती भोग्नुपर्ने थिएन,” उहाँले भन्नुभयो,“हामीलाई त सामान्य भन्दा सामान्य उपचार गर्न पनि भारतकै भर पर्नुपर्ने अवस्था छ ।”

सर्पदंशका कारण दुई छोरीको मृत्यु भएपछि अहिले परिवार शोकमा डुबेको छ, तर फेरि यस्तै अवस्था दोहोरिने होकी भन्ने त्रासमा सार्की परिवार मात्र होईन, सिङ्गो गाउँ पनि छ।

गत भदौ ३ गते पनि तुलसीपुर १२ कुइरेपानीकी ३१ वर्षीय वृहस्पति चौधरीलाई घरमा सुतिरहेको अवस्थामा सर्पले टोक्यो । जिल्लामा उपचार नभएका कारण उहाँलाई पनि उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटो मै मृत्यु भयो ।

सर्पदंशको उच्च जोखिममा रहेको दाङमा उपचार केन्द्र नहुँदा सर्पदंशका कारण नागरिकले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आइरहेको छ । जिल्लाका ठूला भनिएका राप्ती प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचार हुने गरेपनि प्रभावकारी उपचार हुन सकेको छैन ।

सर्पले टोकेको सामान्य उपचार हुने गरेपनि जनशक्ति अभाव र आवश्यक पूर्वाधार नहुँदा उपचार हुन नसकेको राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डट डा सर्वेश शर्माले बताउनुभयो ।

दाङमा ठूला भनिएका अस्पतालमा अहिले पनि सर्पदंशको उपचार नहुँदा जिल्लाका नागरिकले सर्पदंशको उपचार लिनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता छ ।

दाङ सर्पदंशको उच्च जोखिममा देखिएको छ । जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार दाङका तीन स्थानीय तह सर्पदंशको उच्च जोखिममा देखिएका हुन् ।

केन्द्रका सूचना अधिकृत खिलानाथ दाहालका अनुसार दाङको राजपुर, गढवा र दङ्गिशरण गाउँपालिका सर्पदंशको उच्च जोखिममा छन् ।

प्रतिक्रिया दिनुहोस्