तीन हप्तादेखि अस्पतालका कर्मचारी आन्दोलित



१० भदौ २०७६, काठमाडौं

पाउँदै आएको सेवा–सुविधाबाट बञ्चित गराई श्रमशोषण गरेको जनाउँदै बनेपा नगरपालिका–५ घोगेचौरस्थित शिर मेमोरियल अस्पतालका कर्मचारी तीन हप्तादेखि आन्दोलित भएका छन् ।

आफ्ना मागसहित अस्पताल प्रशासन अगाडि गत साउन १६ गतेदेखि धर्नामा बसेका कर्मचारीले प्रशासन कार्यालयभित्र कसैलाई पनि आवतजावत गर्न दिएका छैनन् ।

आफ्ना मागबारे पटक–पटक अस्पताल प्रशासनसँग पहल गर्दा कुनै चासो नदेखाएपछि आन्दोलनमा उत्रिएको नेपाल स्वास्थ्यकर्मी तथा अस्पताल कर्मचारी युनियनका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने, “आन्दोलनको बीचमा भएको वार्तामा हाम्राबारे केही सुनुवाइ नभएकाले आजदेखि कडा आन्दोलनमा उत्रिएका छौँ ।”

अस्पतालको आयव्यय सार्वजनिक गर्नुपर्ने, कर्मचारीलाई उचित पारिश्रमिक निर्धारण गर्नुपर्ने, प्रशासनिक एकाइमा कर्मचारी युनियनको सहभागिता गराउनुपर्ने, बिरामीको सेवासुविधा बढाउनुपर्नेलगायत माग राख्दै पहिलो चरणमा हातमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका थिए ।

“हाम्रो माग सम्बोधन नहुँदासम्म आन्दोलन गर्नेछौँ”, श्रेष्ठले भने ।

उनले श्रम अदालतबाट अनुमोदित कर्मचारी युनियनलाई अस्पताल प्रशासनले अवमूल्यन गरेको र प्रशासनमा धार्मिक (क्रिश्चियानीटी) गुटबन्दी आरोप लगाए ।

यसअघि अस्पतालका कर्मचारीमध्ये ५० प्रतिशतले आलोपालो आन्दोलनमा सहभागी हुँदै आएकामा आजदेखि सबै कर्मचारी आन्दोलनमा उत्रिएका श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्