
०८ भदौ २०७६, काठमाडौं
म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा अल्ट्रासाउण्ड सेवा सञ्चालन भएको छ।
मालिका, धवलागिरि, मङ्गला र तमानखोला गाउँपालिकाका बासिन्दालाई अल्ट्रासाउण्ड सेवाका लागि सदरमुकाम बेनी, बागलुङ, पोखरा पुग्नुपर्ने बाध्यता अब हटेको छ।
गाउँमै सेवा पाएपछि गर्भको बच्चाको अवस्था पहिचानका लागि अल्ट्रासाउण्ड गर्न सदरमुकाम पुग्दा हुने समय र पैसाको बचत भएको दरवाङकी कमला विश्वकर्माले बताए।
“बेनी जान–आउन पूरै दिन लाग्ने थियो। रु दुई, तीन हजार खर्च हुन्थ्यो”, उनले भने, “गाउँमै सेवा पाएपछि सजिलोका साथै समय र पैसाको बचत भयो।”
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको रु २० लाख सहयोगमा मालिका गाउँपालिकाले अल्ट्रासाउण्डलगायतका उपकरण खरीद गरेर केन्द्रलाई उपलब्ध गराएको वडाध्यक्ष सन्तोष सुवेदीले बताए ।
अल्ट्रासाउण्ड सेवा शुरु भएपछि गर्भको बच्चाको अवस्था, पित्तथैली, मिर्गौला, मूत्रथैलीको पत्थरी, कलेजोको रोग पत्ता लगाउन सहज भएको केन्द्रका डा तिलक गौतमले बताए।
रोगको पहिचान गर्न सजिलो हुने र बिरामीले सहज तथा सर्वसुलभ रूपमा सेवा पाएका उनले बताए । अल्ट्रा साउण्डका साथै अक्सिजन कन्सटेटर, नवजात शिशुलाई न्यानो बनाउने उपकरण, आकस्मिक ट्रलीसमेत उपलब्ध गराइएको छ ।
केन्द्रबाट गत आर्थिक वर्षमा १६ हजार जनाले सेवा लिएका थिए ।





