
०७ भदौ २०७६, काठमाडौं
सप्तरीको छिन्नमस्ता गाउँपालिका–६, कुपहीकी २८ वर्षीया रामवती मुखियालाई बिहीबार प्रसूति गराउन राजविराजस्थित भूपेन्द्रनाथ हस्पिटलमा भर्ना गरियो।
शरिरमा रगतको कमी भएकाले रगतको आवश्यकता परेको हो।
नेपाल रेडक्रस सोसाइटीले गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सञ्चालन गरेको रक्त सञ्चार केन्द्रमा रगत लिन गएका उनका पति रित्तो हात फर्किए।
रामवतीलाई मिल्ने ‘ए पोजेटिभ’ रगत रक्त संचार केन्द्रमै अभाव भएपछि स्वास्थ्यकर्मीकै सहयोगमा नेपाली सेनासँग समन्वय गरी उनलाई रगत दिइयो।
यसैगरी, राजगढ गाउँपालिका–६ बर्दाहीकी २४ वर्षीया ललितादेवी यादवलाई पनि सोही दिन अस्पताल भर्ना गरियो।
उनलाई पनि रगतको आवश्यकता भएपछि नेपाली सेनाको भिमदल गणका सिपाही टेक बहादुर शाहले ‘बि नेगेटिभ’ को रगत दिएर ललिताको ज्यान बचाए।
यति मात्र होइन, रक्त संचार केन्द्रमा रगतको अभाव भएपछि यतिबेला सर्वसाधारण अलमलमा पर्न थालेका छन्। केहीलाई भने सेना र प्रहरीका जवानहरूले रगत दिएर सहयोग गर्दै आएका छन्।
केन्द्रमा दैनिक तीन पिण्ट भन्दा बढी रगतको खपत हुने गरेपनि ‘बि पोजेटिभ’ समूहको ८ पिण्ट बाहेक अन्य समूहको रगत अभाव भएको रक्तसञ्चार केन्द्रका प्रमुख नवीन झाले जानकारी दिए।





