एचआइभी संक्रमित आमाले बच्चा जन्माउनेको संख्या बढ्दो



०५ भदौ २०७६, काठमाडौं

जिल्लामा एचआइभी संक्रमित आमाहरुले सुरक्षित बच्चा जन्माउनेको संख्या बढिरहेको छ।

भरतपुर अस्पतालमा विगत १० वर्षमा ९० जना संक्रमित आमाले बच्चा जन्माएका छन्। तीमध्ये पाँच जना बच्चामा संक्रमण देखिए पनि ८६ जनामा भने संक्रमण भेटिएको छैन। एक जना आमाले जुम्ल्याहा बच्चा जन्माएकी हुन्।

भरतपुर अस्पतालमा रहेको एन्टीरेट्रो भाइरल थेरापी (एआरटी) केन्द्रका अनुसार हरेक वर्ष १२ देखि १५ जनाले सुरक्षित बच्चा जन्माउने गरेका छन्।

यस्तै सन् २०१९ को ६ महीनामा चार जना आमाले बच्चा जन्माइसकेका छन्। यसै वर्ष चार जना आमा बच्चा जन्माउने तयारीमा रहेका छन्। संक्रमित भएको थाहा भएदेखि नै औषधि सेवन गर्दा औषधिका कारण बच्चामा र श्रीमान् वा श्रीमतीमा समेत समस्या नहुने केन्द्रका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले जानकारी दिएको हो।

सन् २००७ मा केन्द्र स्थापना भएको हो। संक्रमित आमाले नियमित औषधि खाएमा उनीहरुबाट जन्मिएको बच्चामा समस्या नदेखिने गरेको उहाँले जानकारी दिए।

बच्चा बसिसकेपछि एचआइभी सङ्क्रमण देखिएका पाँच जना आमाले जन्माएको बच्चामा मात्रै सङ्क्रमण भेटिएको उनको भनाइ छ।

केन्द्रको सम्पर्कमा रहेका १७५ जोडीले औषधि सेवन गर्दै बच्चा जन्माउने तयारीमा रहेका छन्। उनीहरु दुवै जना संक्रमित हुन्। औषधिका कारण आफूहरुले सुरक्षित बच्चा जन्माउन सकेको संक्रमितमध्येका एकले बताए।

औषधिको सेवनले संक्रमित जीवन लामो हुने र बच्चा जन्माउन चाहेदेखि बच्चासमेत संक्रमित नहुने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्