
०२ भदौ २०७६, काठमाडौं
राष्ट्रिय चिकित्सा शिक्षा आयोगको कार्यकारी उपाध्यक्ष पदमा सरकारले कसलाई नियुक्त गर्ने भन्ने टुंगो आज हुने सम्भावना रहेको छ।
आज अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषदको बैठकमा आयोगको उपाध्यक्षको टुंगो लाग्ने भएको हो।
सत्तारुड नेकपाको सचिवालय बैठक लम्बिएका कारण हिजोको मन्त्रिपरिषद बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो। उक्त बैठक आज अपरान्ह ४ बजेका लागि बोलाइएको छ।
स्रोतका अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आजको मन्त्रिपरिषद बैठकमा उपाध्यक्ष पद नियुक्तिका लागि गठित सर्च कमिटिले दिएको तीन जनाको नाम पेश गर्दैछन्। सोही मध्येबाट मन्त्रिपरिषदले एक जनालाई उपाध्यक्षमा नियुक्त गर्नेछ।
यसअघि २९ साउनमा बसेको सर्चकमिटिको बैठकले आयोगको उपाध्यक्षमा तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो। कमिटिले एक नम्बरमा प्राडा सुरेन्द्र शेरचन, दुई नम्बरमा प्राडा शम्भुकुमार पहारी र तीन नम्बरमा प्राडा श्रीकृष्ण गिरीलाई सिफारिस गरेको छ।





