कर्मचारीको समायोजनपश्चात प्रदेशका अस्पताल विशेषज्ञ डाक्टरविहीन हुँदै



३२ श्रावण २०७६, काठमाडौं

सुदूरपश्चिम प्रदेशका अस्पताल कर्मचारीको समायोजनपश्चात चिकित्सकविहीन हुने अवस्था भएको छ।

स्वास्थ्य मन्त्रालयले डाक्टरहरुको पदास्थापन गरेसँगै सुदूरपश्चिमका विभिन्न अस्पतालको उपचार सेवा प्रभावित हुने अवस्था देखिएको हो।

कर्मचारी समायोजनसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पदस्थापनको काम अगाडि बढाएपछि सुदूरपश्चिमका अस्पतालहरु विशेषज्ञ डाक्टरविहीन बन्न थालेका हुन्।

सुदूरपश्चिमबाट ११ जना विशेषज्ञ डाक्टरको अन्य प्रदेशमा पदस्थापन भएकोमा सुदूरपश्चिम प्रदेशमा भने अन्यत्रबाट एक जना मात्रै विशेषज्ञ डाक्टरको पदस्थापन हुने सूची प्रकाशन भएको छ।

प्रदेशकै सबैभन्दा ठुलो डडेल्धुरा अस्पताल, डडेल्धुरामा विशेषज्ञ डाक्टरको दरबन्दी भए पनि सबै रिक्त रहेका छन्।

यस अस्पतालमा १९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेकोमा १३ जना मात्र मेडिकल अफिसर थिए।

तर अब समायोजनपछि दरबन्दीका ३ जना मेडिकल अफिसर र २ जना करारमा रहेका चिकित्सक मात्र रहेको अस्पतालको मेसुको जिम्मेवारी पाएका डाक्टर जितेन्द्र कँडेल बताउँछन्। उनी भन्छन्, ‘दरबन्दी अनुसारका चिकित्सक थिएनन् नै। भएका पनि समायोजनपछि गए।’

प्रतिक्रिया दिनुहोस्