राप्ती प्रादेशिक अस्पतालले समय सेवा विस्तार



३१ श्रावण २०७६, काठमाडौं

पछिल्लो समय दाङको राप्ती प्रादेशिक अस्पतालले समय सेवा विस्तार गर्दै गएको छ।

कुनै समय सामान्य बिरामीलाई पनि अन्यन्त्र सिफारिस गर्नुपर्ने अवस्था थियो, तर पछिल्लो समय त्यो अवस्था हटेर गएको छ।

मृगौला प्रत्यारोपण अगाडि गर्नुपर्ने हेमो डायलासिस सेवाका लागि पाँच मेसिन थप गरिएको छ । त्यसले मिर्गौलाका बिरामीलाई थप सहज बनाएको छ।

त्यस्तै गएको आर्थिक वर्षदेखि तुलसीपुरमा सिकलसेल ऐनिमियासमेत परीक्षण हुन थालेको अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा सर्वेश शर्माले बताए।

यसअघि सिकलसेल एनिमिया परीक्षणका लागि नेपालगञ्ज वा काठमाडौँ नै जानुपर्ने अवस्था थियो। चालू आार्थिक वर्षदेखि अस्पतालमा इण्डोसकोपी सेवासमेत शुरु भएको छ।

बिरामीको मागका आधारमा १०० एमएलको एक्सरे डिआर मेसिन ल्याइएको उनको भनाइ छ। पछिल्लो समय अस्पतालले यस्तै नयाँ सेवा पनि थप गर्दै आएको छ।

तर जनशक्ति भने अभाव छ। दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक नहुँदा समस्या हुने गरेको डा शर्माको भनाइ छ । “हामीकहाँ बिरामीको पनि घुइँचो हुन्छ, सेवा पनि प्रभावकारी बनाउँदै आएका छौँ”, उनले भने, “तर दरबन्दीअनुसार चिकित्सक नहुँदा सोचेअनुसार अझै पनि काम हुनसकेको छैन ।” अहिले उपलब्ध चिकित्सकले नै सेवा प्रदान गर्दै आएको उनको भनाइ छ।

अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा एक विशेषज्ञ चिकित्सकले दैनिक १४८ बिरामी हेर्नुपर्ने अवस्था रहेको उनले बताए । एक विशेषज्ञ चिकित्सकले दैनिक २५ मात्रै बिरामी हेर्नुपर्ने प्रावधान रहेपनि जनशक्ति अभाव हुँदा एउटै चिकित्सकले १४८ सम्म बिरामी हेर्नुपरेको उनको भनाइ छ ।

अस्पतालमा १६ विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको भए पनि अहिले छ मात्रै विशेषज्ञ चिकित्सक रहेको डा शर्माले बताए। अस्पताल ५० श्ययाको अस्पताल भए पनि बिरामीको चापले गर्दा ९५ श्यया सञ्चालन गरिरहेको समेत उनको भनाइ छ । “अस्पताल ५० श्ययाको हो”, उनले भने, “तर बिरामीको सङ्ख्या धेरै भएपछि ९५ श्ययाको रुपमा चलाउँदै आएका छौँ।”

प्रतिक्रिया दिनुहोस्