भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समिति खारेज गरिने



३१ श्रावण २०७६, काठमाडौं

भक्तपुर क्यान्सर अस्पतालमा व्यापक अनियमितता भएको गुनासो बढेपछि भक्तपुर नगरपालिकाले भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समिति खारेज गर्दै नयाँ समिति गठन गरेको छ।

नेपाल अबुद्र्ध रोग निवारण संस्थाका नाममा अस्पताल सञ्चालन गरी वर्षौंदेखि अध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठ ‘ईश्वर’ र महासचिव विमलकुमार होडाको मिलेमतोमा अनियमितता भएको गुनासो बढेपछि नगरपालिकाले पुरानो समिति खारेज गरी नयाँ समिति गठन गरेको जनाएको छ।

नगरपालिकाले नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर जिल्ला क्षेत्र नं १ का सङ्घीय सांसद प्रेम सुवाल र प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं सल्लाहकार तथा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, वडाध्यक्ष रवीन्द्र ज्याख्व, उकेश कवां र श्यामकृष्ण खत्री सदस्य रहेको समिति गठन गरेको हो।

अस्पतालका मेडिकल डाइरेक्टर सदस्य सचिव रहने गरी गठन गरिएको समितिमा नेपाल अर्बुद्ध रोग निवारण संस्था, भक्तपुर शाखाका अध्यक्ष, भक्तपुर क्यान्सर अस्पताल सहयोग समितिका अध्यक्ष र सोही समितिका महिला सदस्य र कर्मचारी कल्याणकारी समितिका प्रतिनिधि पनि सदस्य रहेका छन्।

लोकेन्द्रबहादुर श्रेष्ठ अध्यक्ष रहेको व्यवस्थापन समितिका पदाधिकारीबाट नै आर्थिक अनियमितता र भ्रष्टाचार भएको सञ्चारमाध्यम, कर्मचारी र स्थानीय बासिन्दाबाट व्यापक गुनासो आएको र त्यसविरुद्ध स्थानीय जनता तथा अस्पतालका चिकित्सक एवं कर्मचारीबाट सङ्घर्ष भइरहेको जानकारी पाएपछि अस्पताललाई जोगाउन नयाँ समिति गठन गरिएको नगरप्रमुख प्रजापतिले जानकारी दिए।

नगर प्रमुख प्रजापति भन्छन्, “अस्पतालमा अनियमितता भएको विषयमा जान्न बुधबार पनि हामी गयौँ, पटकपटक बोलाउँदा पनि अध्यक्ष, महासचिव आएनन्, बिहीबार पनि हामी गयौँ, पटकपटक बोलाउँदा नआएपछि अस्पताललाई जोगाउन नयाँ समिति गठन गर्नुपरेको हो अब अस्पतालका सबै अनियमितताबारे छानविन हुन्छ।”

अस्पतालका अध्यक्ष श्रेष्ठ र महासचिव होडाले फार्मेसीदेखि ल्याबसम्म भाडामा दिएर कमिसन लिँदै आएको, विभिन्न सामान खरिदमा घोटाला गरेको, दाताले दिएको रकमको दुरुपयोग गरेको, अध्यक्षले अस्पतालको गाडी दुरुपयोग गरी बागबजारमा रहेको आफ्नो होटलमा समेत प्रयोग गरेको, अस्पतालभित्र व्यापक भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्