किशोरी अधिकार संरक्षणमा अभिभावकको भुमिका महत्वपूर्ण हुने सरोकारवालाहरुको निष्कर्ष



३० साउन २०७६, नवलपुर/दिपक शर्मा

पछिल्लो समय किशोरीहरुमाथी बिभिन्न हिंसात्मक गतीविधिहरु बढेको विभिन्न तथ्याँकहरुले बताईराखेको छ ।

यस्ता किशोरीमाथी हुन सक्ने हिंसा र शोषणको अन्त्यको लागि स्वयम किशोरीका अभिभावकहरु र सरोकारवालाहरुको भुमिका महत्वपूर्ण हुने कुरा देवचुलीका सरोकारवालाहरुले आज बताए ।

जागृति बाल तथा युवा सरोकार नेपालले कन्नालन स्विजरल्याण्डसँगको साझेदारीमा सञ्चालित कार्यक्रम अन्तर्गत देवचुली नगरपालिका वडा नंं १६ का वडास्तरीय सरोकारवालाहरुको सँगको छलफलमा उक्त निष्कर्ष निकालिएको हो ।

कार्यक्रममा सहभागी देवचुली १६ की अभिभावक अन्जली पुडासैनीले आज पनि किशोरीहरुको बारेमा समाजमा खुलेर कुरा गर्न सक्ने वातावरण सृजना भएको छैन, त्यसकारण उनीहरुको भावना बुझ्ने र परेको समस्याहरु बुझ्नको लागि स्वयम अभिभावक नै उनको साथी भएर व्यवहार गरिनुपर्नेमा जोड दिए ।

त्यस्तै सामाजिक अगुवा कृष्ण बहादुर अधिकारीले शिक्षा महत्वपूर्ण पक्ष रहेको र सवै किशोरीहरुको सरल र सहज पहुँच शिक्षामा बढाउनुपर्ने र त्यही शिक्षाको मार्फतबाट उनीहरुको नेतृत्व विकास, आत्मसुरक्षा र अन्य विकासको कुरा सम्भव रहेको बताए ।

स्वास्थ्य स्वयमसेविका समेत रहनुभएकी दिलमाया अधिकारीले अहिले पनि किशोरीहरुको बाल विवाह हुनुले समाजमा हामीले धेरै कार्य गर्न बाँकी रहेको र सहरी क्षेत्र भन्दा पनि दुर्गममा आधारित भएर यस्ता अभिभावक सचेतना र किशोरीहरुको सचेतना कक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिईन । किशोरीहरु आफैंले भागेर जाने विवाह व्यापक रहेकोले यसको न्युनिकरणमा समेत सवैको समान चासो हुन सके सम्भव रहेको कुरामा उनको जोड रहेको थियो ।

वार्डज भिजन ईं स्कुलका प्रधानाध्यापक मधुसुधन दवाडीले अभिभावकले अली खुल्ला छोड्नुले बालकहरुको स्वतन्त्रता रहने र त्यही अवस्थामा नै किशोरीहरु पनि सहभागी भए उनीहरुमाथी बिभिन्न हिंसात्मक घटनाहरु बढ्ने गरेकोले अभिभावकहरुले चासो दिन थालेमा यस्ता घटनाहरु रोकीने उहाँको भनाई रहेको थियो ।

कार्यक्रमको अन्त्यमा वडा अध्यक्ष केशर बहादुर क्षेत्रीले समाजमा व्याप्त कुरीती र विसँगती हटाउनको लागि लागिपरेको र यो कार्यक्रममा आएका महत्वपूर्ण सुझावहरुलाई समेत ग्रहण गरी वडा र नगरपालिकाले यही अनुसार नै कार्यक्रमहरु समेत सञ्चालन गरी किशोरीमैत्री वडाको रुपमा विकास गर्नको लागि लागि पर्ने बताएका थिए ।

कार्यक्रममा वडाभित्रका टोल सुधार समितिका प्रतिनिधीहरु, जनप्रतिनिधीहरु, प्रहरी कार्यालय, विद्यालय, किशोरी सशक्तिकरण कार्यक्रमका साथीशिक्षकहरु र अन्य व्यक्तिहरु गरी ६५ जनाको सहभागिता रहेको र कार्यक्रमको सञ्चालन र सहजिकरण जागृति बाल तथा युवा सरोकार नेपालका कार्यक्रम संयोजक दिपक शर्माले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्