
२० श्रावण २०७६, काठमाडौं
दिन प्रतिदिन भरतपुर अस्पतालमा बिरामीको चाप वृद्धि भईरहेको छ।
बिरामीको सङ्ख्यामा बढ्दै गए पनि त्यसअनुसारको पूर्वाधार नहुँदा व्यवस्थापन गर्न कठिन भएको अस्पतालले जनाएको छ।
सीमित स्रोतसाधनमा धेरै बिरामीलाई उपचार गर्नुपर्ने बाध्यतासँगै अस्पताल प्रशासनले स्वास्थ्य मन्त्रालयमा सेवा विस्तारका लागि बजेट माग गरेको छ।
गतवर्ष केन्द्रीयस्तरको अस्पतालको मान्यता पाएर पनि बजेट नपाएको यहाँको भरतपुर अस्पतालले रु. २४ करोड बराबरको बजेट निकासा गर्न र दरबन्दी थपका लागि प्रक्रिया अघि बढाउन माग गरेको हो।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीका अनुसार बिरामीको चाप निकै बढेपछि उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई भेट गरी अस्पतालको समग्र अवस्थाको बारेमा जानकारी गराइएको हो।
उनले भने, “हिजो आइतबार हाम्रो बहिरङ्ग सेवामा एक हजार ६८८ बिरामीले टिकट काटेका थिए।” ती सबैको एकै दिनमा उपचार गर्न सेवा विस्तार गर्नुपर्ने भएकाले आफूले मन्त्रीलाई भेट गरी सेवा विस्तारका लागि आग्रह गरेको बताए।
तिवारीका अनुसार मन्त्री यादवले केन्द्रीय अस्पताल भएकाले तत्काल सेवा विस्तारका लागि आवश्यक वजेट विनियोजन गरी अख्तियारी दिने आश्वासन दिएका छन्।





