
२० श्रावण २०७६, काठमाडौं
सोलुदूधकुण्ड नगरपालिका–७ को नाजिङमा सुविधा सम्पन्न सामुदायिक अस्पताल निर्माण हुने भएको छ।
अस्पताल निर्माणका लागि १२ रोपनी जग्गासमेत प्राप्त भएको भएको हो।
सल्लेरीमा सञ्चालित सोलुहेल्थ केयर सेन्टरले रु. १६ लाखमा खरीद गरेको उक्त जग्गा अस्पताललाई निःशुल्क दान गरेको सेन्टरका अध्यक्ष छितिज नकर्मीले बताए।
निजी लगानीमा सञ्चालित हेल्थ केयर सेन्टरले दुर्गम क्षेत्रमा सामुदायिक अस्पताल आवश्यक पर्ने महसुस गरी सहयोग गरेको अध्यक्ष नकर्मीको भनाइ छ।
सोलखुम्बुसहित माथिल्लो सगरमाथा क्षेत्रका बिरामीलाई समेत सहज,गुणस्तरीय र बिरामीमुखी स्वास्थ्योपचार गर्नका लागि सामुदायिक अस्पताल निर्माणको परिकल्पना गरिएको अभियन्ता डा. बस्नेतको भनाई रहेको छ।
उक्त अस्पताल करीब रु.१५ करोडको अनुमानित लागतमा निर्माण हुने र अस्पतालमा आधुनिक स्वास्थ्य उपकरण तथा औषधिसहित विषेशज्ञस्तरीय सेवा दिने बताइएको छ।
अस्पताल सञ्चालनका लागि जिल्लाको नेचासल्यान १ का डा. योगेन्द्र बस्नेत र डा एलिना श्रेष्ठबाट उपचार सेवामा सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको अभियन्ताले बताएका छन्।
अस्पतालबाट उठेको पैसाले गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिबाट डाक्टर पढाएर त्यसपछि जिल्लाभरि अस्पतालको शाखा विस्तार गर्ने योजना बनाइएको छ।
२०८० सालसम्म निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी काम भइरहेको र अस्पताल निर्माणपछि आफूले १० वर्षसम्म निःशुल्क सेवा गर्न तयार रहेको पनि डा बस्नेतले बताए।





