
१७ श्रावण २०७६, काठमाडौं
नेपालको ‘हार्ट हिरो – २०१९’ को सम्मान बरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा प्रकाशराज रेग्मी घोषित भएका छन्।
बाल मुटु परीक्षण, अनुसन्धान, जनचेतना अभिबृद्धि, स्वास्थ्यकर्मीलाई तालिम तथा मुटुरोगीको उपचार क्षेत्रमा पुर्याएको योगदानको आधारमा उनलाई यो सम्मान दिइएको हो।
गत साता एक कार्यक्रम मार्फत नेपाल हृदयरोग निवारण प्रतिष्ठानले प्राडा रेग्मीलाई ‘हार्ट हिरो – २०१९’को सम्मान दिएको हो।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा वर्षेनी १ करोड ७५ लाख मानिस मुटुरोगका कारण मर्ने गर्दछन्।
विश्वभरी नै मुटु रोगको प्रकोप बढ्दै गैरहेको परिप्रेक्षमा विश्व स्वास्थ्य संगठनले सन् २०२५ सम्ममा मुटुरोगबाट हुने युवा मृत्युदरलाई २५ प्रतिशतले घटाउने लक्ष्य लिएको छ ।
यसै सन्दर्भमालाई आधार मानि, विश्व मुटु महासंघले विश्वभर मुटुरोग रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले प्रत्येक देशको सदस्य संस्थाबाट एकजना यस क्षेत्रमा विशिष्ठ योगदान दिएका व्यक्तिलाई हर्ट हिरो–२०१९ घोषणा गर्ने र यि हार्ट हिरोहरुको विश्वव्यापी सञ्जाल बनाई मुटुरोग रोकथाम र नियन्त्रण अभियान चलाउने पहल गरेका हुन्।
यसै सन्दर्भमा, नेपाल हृदयरोग निवारण प्रतिष्ठानले नेपालबाट वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. रेग्मीलाई हार्ट हिरो २०१९ घोषणा गरेको हो।
यो सम्मान पछि प्राडा रेग्मीले जेनेभामा रहेको विश्व मुटु महासंघले निर्माण गर्ने हार्ट हिरो सञ्जालमा रहि विश्वव्यापी रुपमा मुटुरोग रोकथाम अभियानमा सहभागी हुनेछन् ।





