
१५ साउन २०७६, काठमाडौं
ओखलढुंगाको सुनकोशी गाउँपालिकाले एकल महिलाको उपचार खर्च व्यहोर्ने भएको छ । गाउँपालिकाको चालु आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा एकल महिलालाई उपचार खर्च व्यहोर्ने भएको हो ।

गाँउपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीका अनुसार ५० वर्ष उमेर पुग्दा सम्म विवाह नगरेका र विवाह गरेका तर ३५ वर्ष नपुग्दै श्रीमान गुमाएर एकल बनेका महिलाहरुलाई औषधी उपचारका लागि सहयोग गर्ने नीति लिईएको हो ।

गाउँपालिकाले साहारा विहिनहरुलाई समेट्ने लक्ष्य अनुरुप एकल महिला लक्षित कार्यक्रम ल्याएको हो । ‘अधिकांश एकल महिलाहरुले विभिन्न समस्या झेल्दै आएका कारण गाउँपालिकाले एकल महिलालाई वर्षमा ५ हजारका दरले नगद दिँदा पनि सामान्य रोगको उपचारका लागि टेवा पुग्ने अध्यक्ष अधिकारीको भानाई छ ।
अध्यक्ष अधिकारीका अनुसार एकल महिलाले फेरि विवाह गरेमा उनले उपचार खर्च पाउने छैनन् । सुनकोशीले गतवर्ष देखिनै जेष्ठ नागरिक, दलित र अपाङ्गता भएकाहरुलाई लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।





