
१० श्रावण २०७६, काठमाडौं
अस्पतालको लापारबाहीका कारण एक सुत्केरीको मृत्यु भएको छ।
वुधबार त्रिशूली जिल्ला अस्पतालमा भर्ना भएकी ३५ वर्षीया गोमा बस्तीको अत्यधिक रक्तश्राव भएपछि मृत्यु भएको हो।
नुवाकोटको तारकेश्वर गाउँपालिका–५ की बस्तीले बिहीबार बिहान सामान्य अवस्थामा छोरा जन्माएको र सुत्केरीपश्चात् अत्यधिक रक्तश्रावको कारण उनको मृत्यु भएको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रेमकुमार राईले जानकारी दिए।
बच्चा जन्माउँदा खुला भएको उनको पाठेघर बन्द नभई अत्यधिक रक्तश्रावले जोखिममा परेपछि उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँको शिक्षण अस्पताल पुर्याउँदा मृत्यु भइसकेको उपचारमा संलग्न चिकित्सकले बताए।
नवजात शिशुको पनि श्वासप्रश्वास सन्तुलन नभएकाले शिशुलाई पनि थप उपचारका लागि यहाँबाट काठमाडौँ पठाएको थियो।
बच्चा जन्माउँदा खुलेको पाठेघर बन्द नभई त्रिशूली अस्पतालस्थित सुत्केरीकक्षभित्र अत्यधिक रक्तश्राव र अर्धचेत हुँदासमेत चिकित्सकले ध्यान नदिँदा उनको मृत्यु भएको गोमाका दाजु भोजप्रसाद न्यौपानेले बताए।
सामान्य अवस्थामै अस्पताल पुर्याए पनि अस्पतालले राम्रोसँग सुत्केरीको हेरचाह नगर्दा मृत्यु भएको मृतकका आफन्तले बताएका छन्।





