
०६ श्रावण २०७६, काठमाडौं
तिलगंगा आँखा अस्पताललाई विश्व स्वास्थ्य संगठन (डब्लूएचो) ले आफ्नो समन्वयन केन्द्रको मान्यता दिएको छ ।
आँखा स्वास्थ्य क्षेत्रमा उत्कृष्ठ सेवा प्रदान गरेवापत अस्पतालको २५ औं बार्षिकोत्सवको अवसरमा सोमबार डब्लूएचओले यस्तो मान्यता दिएको हो ।
यस अघि डब्लूएचोले सार्क क्षयरोग केन्द्रलाई समन्वयन केन्द्रको घोषणा गरेको थियो । यो सँगै नेपालका दुईवटा स्वास्थ्य संस्था विश्व स्वास्थ्य संगठनको समन्वय केन्द्रका रुपमा गनिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति रहेको सोमबारको विशेष समारोहमा विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा. जोस भेन्डिलियरले अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङलाई समन्वय केन्द्रको प्रमाणपत्र प्रदान गरे ।
आँखा स्वास्थ्य सेवा, शैक्षिक तथा तालिम अर्थात आँखाको प्राविधिक जनशक्ति उत्पादन र अनुसन्धान पुर्याएको योगदानको आधारमा मान्यता दिएको डा. जोशले जानकारी दिए ।





