महिला क्रिकेट प्रतियोगिताको विजयी टीमलाई खानेपानी मन्त्रीद्वारा पुरस्कार वितरण



११ असार २०७६, कञ्चनपुर

खानेपानी मन्त्री बिना मगरले नेपाली युवा खेलाडीहरुको सही ढंगले संरक्षण र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएकी छिन् ।

कंचनपुरको महेन्द्रनगरमा महाकाली स्पोट्र्स सोसाइटीले आयोजना गरेको प्रधानमन्त्री महिला कप टी २० क्रिकेट प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले खेलाडीहरुको संरक्षण र व्यवस्थापनमा सबैको ध्यान जानुपर्ने बताएकी हुन् ।

‘खेलले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउने भएकाले खेलाडीहरुको संरक्षण गर्नु जरुरी छ । खेल भनेको केबल मनोरञ्जनका लागि मात्रै होइन यसले युवाहरुमा आत्मविश्वास समेत जगाउछ, कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘सक्षम र अनुशासित युवा जन्माउन खेलकुद क्षेत्रको विकास गर्नु अति आवश्यक छ ।’

सुदुरपश्चिम क्षेत्रमा यसरी राष्ट्रिय स्तरको महिला क्रिकेट प्रतियोगिता हुनु आफैंमा महत्त्वपूर्ण उपलब्धि रहेको भन्दै यस किसिमको प्रतियोगिता निरन्तर हुनुपर्ने मन्त्री मगरले बताईन् । सुदुरपश्चिम क्षेत्रमा खेलकुदको विकासको लागि आफुले सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरिन् ।

सुदुरपश्चिम सरकारका उद्योग, वन तथा वातावरण, पर्यटन राज्य मन्त्री प्रकाश रावलले सुदुर पश्चिम क्षेत्रमा खेलकुदको विकासका लागि अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन गुरुयोजना तयार भैरहेको जानकारी दिए ।

असार ४ गतेदेखि सुरु भएको महिला क्रिकेट प्रतियोगिताको फाइनल खेल सशस्त्र प्रहरी टीम र सुदुरपश्चिम क्लब बीच भएको थियो । प्रतियोगितामा सशस्त्र प्रहरी टीमले सुदुर पश्चिम टीमलाई ६ विकेटले पराजित गरेको थियो । सुदुर पश्चिम टीमले २० ओभरमा ७१ रनमात्र बनाएको थियो ।

मन्त्री मगरले विजयी टीमलाई प्रमाणपत्र र पुरस्कार  वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्