थुलुङ दुधकोशीमा आमा सुरक्षा कार्यक्रम प्रभावकारी बन्दै, मातृ मृत्युदर शून्य



१० अषाढ २०७६, जेपी थुलुङ/सोलुखुम्बु

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा यस बर्ष मातृ मुत्युदर शून्यमा झरेको छ ।

स्थानीय सरकारले स्वास्थ्य संस्थामा प्रसुति गराउने महिलालाई प्रोत्साहन भत्ता ५ हजार रुपैंया उपलब्ध गराउन थालेपछि थुलुङ दुधकोशी गाउँपालिकामा मातृ मृत्युदर शून्यमा झरेको हो ।

गाउँपालिकाले गत बर्षदेखी आमा सुरक्षा कार्यक्रम शुरु गरि स्वास्थ्य संस्थामा प्रसुति गराउने महिलालाई प्रोत्साहन भत्ता स्वरुप ५ हजार रुपैंया उपलब्ध गराउन थालेको हो ।

थुलुङ दुधकोशी गाउँपालिकामा आमा सुरक्षा कार्यक्रम शुरु भएपछि आर्थिक बर्ष ०७५/७६ मा सुत्केरी गराउने क्रममा कुनै पनि आमाको मृत्यु नभएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । यसअघि अघिल्लो आर्थिक बर्षमा भने गाउँपालिकाभित्र ३ जना सुत्केरी आमाहरुको मृत्यु भएको थियो ।

स्वास्थ्य संस्थामा गएर नियमित गर्भवती जाँच गराउने र स्वास्थ्य संस्थामै पुगेर सुत्केरी गराउने महिलाको सङ्ख्या बढेका कारण मातृ मृत्युदरमा उल्लेख्य कमी आएको गाउँपालिका अध्यक्ष राईको भनाई छ ।

मातृ मृत्युदर र नवजात शिशु मृत्युदरमा कमी ल्याउन प्रोत्साहन कार्यक्रम सञ्चालन भएको र सर्वसाधारणमा चेतनाको विकास र स्वास्थ्य संस्थामा गएर गर्भवती जाँच गराउनु पर्छ भन्ने बिश्वास बढेको कारण मातृ मृत्युदरमा कमी आएको थुलुङ दुधकोशी गाउपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्